काठमाडौं- कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताए ।
सरकारले जिटुजी मार्फत चीनबाट खोप ल्याउन लागेको हो । उनले भने र आज साँझ निगमको विमान खोप लिनका लागि चीन जादै छ । जहाजले असार २५ गते खोप ल्याउने छ ।
यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । “बिहीबारदेखि तीन पटक जहाज खोप लिनका लागि चीन जाने छ”, उनले भने ,“परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन ।”
पहिलो पटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने उनले बताए । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो ।
खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने उनको भनाइ रहेको छ ।
नेपाल एयरलायन्सले पनि यसअघि तीन खेपमा ४० लाख डोज खोप ल्याउने तालिका सार्वजनिक गरेको थियो ।