काठमाडौं । काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ । यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए । परीक्षासमेत स्थगित भइरहेका बेला अब फेरि केही क्षेत्रलाई सीमित गरेर अघि बढ्ने कि भन्नेबारे छलफल गरेर निर्क्यौलमा पुगिने उनले बताए ।
यसअघि घोषित निषेधाज्ञाको भोलि मध्यराति सकिँदैछ । केही दिन यता कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यकाका अस्पतालहरु संक्रमितले भरिन थालेका छन् । काठमाडौँ उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता केही खुकुलो बनाइएको थियो ।
अहिले विद्यालय, मठमन्दिर, नाइट क्लवलगायतका क्षेत्रबाहेक सबैजसो पसल, व्यवसाय खुला गरिएको छ । तर केही दिनदेखि संक्रमण बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गत शनिबार भिडिओ सन्देश जारी गर्दै कोरोनाको तेस्रो लहरको संकेत देखिएको भन्दै अत्यावश्यक नपरेसम्म घरबाट बाहिर ननस्किन आग्रह गरेका थिए ।