काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । बिहीवार तीन जनामा हैजा पुष्टि भएकोमा हिजो थप चार जनामा हैजा देखिएको छ । योसहित काठमाडौं उपत्यकामा हैजा पुष्टि हुनेको संख्या २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक काठमाडांैको कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले पछिल्ला दिनमा दैनिकरूपमा हैजाका बिरामी पुष्टि हुँदै गएको र थप सावधानी अपनाउनुपर्ने देखिएको बताए ।
यसअघि हैजा पुष्टि भएका व्यक्तिलाई १० दिनसम्म अस्पताल भर्ना गरी उपचारपछि डिस्चार्ज गरिएको थियो । परीक्षण नगराएका अरू व्यक्तिलाई पनि हैजा हुनसक्ने भएकाले सचेत रहन डाक्टरको सुझाव छ ।
खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन समेत आग्रह गरिएको छ ।