काठमाडौं । नेपालमा पहिलो पटक चिकित्सा संग्रहालय स्थापना हुने भएको छ । वागमती प्रदेश सरकारको सहयोगमा राजधानीमा पहिलो चिकित्सा संग्रहालय स्थापना हुन लागेको हो । संग्रहालय स्थापना गर्न प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नेपाल चिकित्सक संघसँगको सहकार्यमा संग्रहालय स्थापना गर्न लागिएको हो । संघको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा संग्रहालय स्थापना गर्ने निर्णय भएको जानकारी वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले दिए ।
संग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्रीको संग्रह गरिने छ । संग्रहालयमा पुराना औजार, चिकित्सा उपकरणलगायत सामग्री राख्ने तयारी छ । नेपालमा प्रयोग भएको पहिलो अल्ट्रासाउन्ड, इसिजी, माइक्रोस्कोपलगायत सामग्री संग्रहालयमा राखिने जानकारी संघका अध्यक्ष डा। लोचन कार्कीले दिए ।
स्वास्थ्यसम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ । केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी रहेको संघले जनाएको छ । नेपालमा पहिले लेखिएका प्रेस्क्रिप्शन, तस्बिर, संघका निर्णय पनि संग्रहालयमा राखिने जनाइएको छ । संग्रहालयले स्वास्थ्य पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने विश्वास पनि गरिएको छ ।