धनगढी । कैलालीका स्थानीय बासिन्दाले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्।
स्थलगत अध्ययनका लागि पुगेको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरुसँग उनीहरुले गेटालाई विश्वविद्यालय बनाउन सहयोग गरिदिन माग गरेका हुन्।
चिकित्सा विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालन गर्नेबाहेक अन्य कुरा स्वीकार्य नहुने बताए।
देशभरि ४२ वटा मेडिकल कलेज र ७ वटा विभिन्न प्रतिष्ठान सन्चालन भइरहेका बेला सुदूरपश्चिमका २८ लाख नागरिकलाई अहिलेसम्म उपेक्षा गरिएको बताउँदै उनले अब भने गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा सन्चालन नगरेमा जुनसुकै कदम उठाउन पनि प्रदेशवासी तयार भएको चेतावनी दिए।
धनगढीका मेयर गोपाल हमालले गेटा मेडिकल कलेजलाई संघ र प्रतिनिधिसभाको चुनावअघि सन्चालन गर्नुपर्ने धारणा राखे। प्रदेशवासीलाई सधैं अल्मल्याउने काम गरिएको बताउँदै उनले मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने कुरा चुनावी फण्डामात्र हुनसक्ने भन्दै छिटो सन्चालन गरिनुपर्ने बताए।
सांसद एवं स्थलगत टोलीका सदस्य दीपकप्रकाश भट्टले दुई तीन वर्षदेखि प्रदेशवासीले गेटालाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रुपमा सन्चालन गर्नुपर्ने माग राख्दै आएको स्मरण गर्दै त्यसका लागि आवश्यक कानुन तत्काल निर्माण गर्नुपर्ने बताए।