काठमाडौं - त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रलाई साउन १ गते बिहानी सेवा सञ्चालन गर्न भनेको छ।
यसअघि आइओएमकी डिन दिव्या सिंह शाहले यी अस्पताल र केन्द्रका कार्यकारी निर्देशकलाई पत्र नै लेखेर आइतबार राष्ट्रपति सहभागी हुने कार्यक्रममा उपस्थित हुन उर्दी नै जारी गरेकी थिइन्। पत्रमा आकस्मिक बाहेकको अन्य सबै उपचार सेवा स्थगित गरेर कार्यक्रममा सहभागी हुन भनिएको थियो।
उक्त कुराको चौतर्फी आलोचना भएपछी हाल आइओएमले उक्त पत्र सच्याउँदै आइतबार बिहानी सेवा सञ्चालन गर्न मातहतका अस्पताललाई भनेको छ।
संस्थानको ५० औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएकोमा साउन १ गते राष्ट्रिपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिने व्यहोरा पत्रमा उल्लेख छ।
