काठमाडौं । प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ।
पक्राउ पर्नेमा गुल्मीको तम्घास–२ घर भएका विजय कुँवर र दैलेख घर भएका विमल शाही, रामेछापको मन्थली नगरपालिका घर भएका धनबहादुर रोका उर्फ हिमाल, दैलेखका २८ वर्षीय धुपेन्द्र शाही र झापा घर भएका आशिष तामाङ छन्।
शरीरमा दुईवटा मिर्गौला हुने, एउटाले मात्र पनि काम गर्ने र एउटा बेच्दा केही नहुने भन्दै मिर्गौला निकालेका व्यक्तिको उदाहरण देखाएर राम्रो मोबाइल पाइने तथा ५ लाख रुपैयाँसम्म कमाइ हुने आश्वासन दिएर उनीहरूले मिर्गौला निकाल्नका लागि सडक बालबालिकालाई भारत लैजान लागेको बेला नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
आइतबार ब्यूरोले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको छ। आरोपीहरुले काठमाडौंका सडक बालबालिका र मजदुरलाई फकाएर मिर्गौला बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको ब्यूरोका एसपी दानबहादुर मल्लले जानकारी दिए।