काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख छ।‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ,’ बजेट वक्तव्यमा भनिएको छ,‘यसका लागि सबै सामुदायिक तथा सरकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ।’
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष दामोदर बसौला यसमा सरकारको निर्णय नै अन्तिम निर्णय भएको बताउँछन्। यसमा बोर्डले केही गर्न सक्दैन। सरकारले जे निर्णय गर्छ त्यो नै अन्तिम निर्णय हो,बसौलाले भने।
हालसम्म निजी, सामुदायिक र सरकारी गरी ४४१ स्वास्थ्य संस्था बीमा कार्यक्रममा आवद्ध थिए। जसमध्ये ५२ वटा स्वास्थ्य संस्था निजी अस्पताल मात्र छन्। केही निजी अस्पतालहरूले आइतबार नै विज्ञप्ति सार्वजनिक गरेर अब बीमा कार्यक्रम अन्तर्गत सेवा नदिने जनाएका छन्।