काठमाडौं । शल्यक्रियाका समयमा चाहिने अक्सिजेनेटर व्यवस्था नहुँदा राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। शल्यक्रिया सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएका छन्।
अस्पताल प्रशासनको लापरबाहीका कारण यो समस्या आएको हो, अस्पतालका एक चिकित्सकले भने यस्तो गम्भीर विषयमा पनि अस्पताल प्रशासन मौन बसेको परिणाम हो।ु ती चिकित्सकका अनुसार अक्सिजेनेटर खरिदमा कमिसन कम आउने भएपछि खरिद प्रक्रियामा आलटाल गरेको हो।
अक्सिजेनेटर मेसिनले मुटुको शल्यक्रिया गर्दा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ। मुटुको शल्यक्रियाका क्रममा मुटु र फोक्सोको काम उपकरणको सहयोगमा कृत्रिम रुपमा सञ्चालन गर्नुपर्छ। तर गंगालाल प्रशासनले शल्यक्रियाका क्रममा चाहिने अक्सिजेनेटर खरिदमा आलटाल गर्दा बिरामी समस्यामा परेका हुन्।