काठमाडौं । पर्वतका दुई जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा डेंगुको लक्षण भेटिएको पर्वत अस्पतालले पुष्टि गरेको छ ।
अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कुश्मा नगरपालिकाभित्र बसोबास गर्ने १९ वर्षीया महिला र ५० वर्षीय पुरुषमा डेंगुको लक्षण देखिएको हो ।
स्वास्थ्यमा समस्या भएपछि परीक्षणका लागि आएका बिरामीमध्ये शंका लागेर परीक्षण गर्दा दुई जनामा डेंगुको संक्रमण पुष्टि भएको हो ।
ज्वरो आएपछि करिब एक सातासम्म घरमै आराम गरिरहेको र निको नभएपछि पर्वत अस्पतालमा उपचारका लागि आएका उनीहरूमा डेंगुको आशंकामा स्वास्थ्यकर्मीले प्रयोगशालामा रगत परीक्षण गरेका थिए ।
ज्वरो आएका करिब ६० बिरामीको रगत परीक्षण गरिएकोमा उनीहरूमा मात्रै डेंगुको लक्षण भेटिएको अस्पतालका ल्याव टेक्निसियन अमृत पौडेलले पुष्टि गरे । उनीहरू दुवै जनाको पर्वत अस्पतालमै उपचार भइरहेको उपाध्यायले बताए ।