काठमाडौं । शल्यक्रिया गरिएको ९ घण्टापछि मोरङको रंगेली अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । रंगेली नगरपालिका–७ मा रहेको जिल्ला अस्पताल रंगेलीमा शल्यक्रियामार्फत प्रसूति गराइएकी सुनवर्षी नगपालिका–९ की २५ वर्षीया सुष्मिता मण्डलको मृत्यु भएको हो। उनको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।
शल्यक्रियामार्फत उनले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी थिइन् । डा. अरुण भट्टराई नेतृत्वको टोलीले बिहीबार साँझ ५ बजेतिर उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि सामान्य अवस्थामा रहेकी सुष्मितालाई एक्कासि पेट दुख्ने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम देवले बताए।
‘शल्यक्रियापछि पति (श्रीमान)लगायत परिवारका सदस्यसँग गफगाफ गरेर बसिरहेका बेला एक्कासि स्वास्थ्यमा समस्या देखियो,’ डा. देवले भने,‘पेट दुख्ने र श्वास फेर्न गाह्रो हुन थाल्यो । अवस्था जटिल बनेपछि रेफर गरेर थप उपचारका लागि विराटनगर पठाउने तयारी हुँदै गर्दा मृत्यु भयो ।’ उनका अनुसार सुत्केरीको मृत्युको कारण पत्ता लाग्न सकेको छैन।
‘फोक्सोको नशा ‘ब्लक’ भएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘पोस्टमार्टम गरेपछि मात्रै मृत्युको कारण पत्ता लाग्छ ।’ शवको पोस्टमार्टम गरेर सुत्केरीको मृत्युको कारण पत्ता लगाइने जानकारी डा.देवले दिए । उनका अनुसार आमाको मृत्यु भए पनि उनीबाट जन्मिएकी शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ । सुत्केरीको मृत्यु भएको खबर प्राप्त भएसँगै आफन्त र परिवारका सदस्य रंगेली अस्पतालमा मृत्युको कारण आफूहरुलाई प्रष्ट पार्नुपर्ने माग गरेका छन्।