एजेन्सी । सिरियाली सरकारले यहाँका विभिन्न भागमा फैलिएको हैजा नियन्त्रणबाहिर नरहेको बताएको छ ।
सिरियाली स्वास्थ्य मन्त्री हसन–अल घबासले यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि र अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँगको भेटका क्रममा शनिबार सो कुराको जानकारी गराएका हुन्।
सिरियाका विभिन्न स्थानमा हैजाको प्रकोप फैलिएको थियो । त्यसपछि यहाँको सरकारले सफा पानी उपलब्ध गराउनुका साथै सरसफाइका लागि यहाँका नागरिकलाई सचेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेकाले यहाँको हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर जान नपाएको जानकारी गराएका थिए।
सिरियामा केही दिन यतादेखि हैजाको प्रकोप फैलिएको प्रति संयुक्त राष्ट्रसङ्घका साथै यहाँ कार्यरत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले चासो राखेपछि उनले सो जानकारी गराएका हुन्।गएका केही हप्तादेखि यहाँ हैजाको प्रकोप बढेको थियो । यहाँका केही भूभागमा फैलिएको यो हैजाका ५३ जना सङ्क्रमित भेटिएका थिए । साथै हैजाबाट यहाँका सात जनाको ज्यान पनि गएको सरकारले जनाएको छ।
यो अवस्था आएपछि संयुक्त राष्ट्रसङ्घ र यहाँका अन्य संघसंस्थाहरुले हैजाको नियन्त्रणका लागि आवश्यक उपायहरु अपनाउन भनेका थिए।