काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले किड्नी, कलेजो प्रत्यारोपण सेवा सुचारु गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षा पास गरी कलेजमा भर्ना हुन आएका एमविविएस, विडिएस, विएस्सी नर्सिङ तहका विद्यार्थीलाई राखिएको स्वागत कार्यक्रममा कलेजले यस्तो जनाएको हो ।
उक्त कार्यक्रममा बोल्दै वरिष्ठ स्त्री रोग विशेषज्ञ भोला रिजालले नेपालको मेडिकल शिक्षामा एनएमसीको महत्वपूर्ण योगदान रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा पनि योगदान पुर्याएको चर्चा गरे । एनएमसीमा पढेका दक्ष जनशक्तिहरु अहिले संसारभर पुगेको बताउँदै डा। रिजालले विद्यार्थीहरुको सफलतामा कलेजले गर्व गरेको जिकीर गरे ।
नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै डा. रिजालले महाकवी लक्ष्मी प्रसाद देवकोटाको कविता यात्रीको अंश प्रस्तुत गर्दै दुःखी र रोगीहरुको सेवा भन्दा ठूलो पुन्य केही नहुने बताए । कलेज स्थापना गर्दा नगरबासीले दिएको साथ र सहकार्यको प्रशंसा गरे ।
कार्यक्रमका विशिष्ट अतिथी काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा.राजेन्द्र कोजूले नेपालको मेडिकल शिक्षामा एनएमसीको योगदानको चर्चा गर्दै नव आगन्तुक विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गरी देश सेवामा लाग्न सल्लाह दिए । विरामीको सेवा गर्नु जस्तो उत्तम कार्य अरु केही नभएको पनि बताए ।