काठमाडौं । देशका १२ संघीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् ।
चैत्र महिनाभित्र प्राप्त विवरणअनुसार अधिकांशले तोकिएको समयभित्र सेवा विस्तार गरेको पाइएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए । वीर अस्पतालले पाठेघरको मुखको क्यान्सरविरुद्ध काठमाडौँ महानगरसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिरहेको छ ।
सेवा बिस्तार अन्तर्गत कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा सुरु गरेको छ । यसैगरी अस्पतालअन्र्तगतको ट्रमा सेन्टरले सीटीस्क्यान तथा एक्सरेमा फिल्म हटाएर डिजिटल रिपोर्ट प्रदान गर्न थालेको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमेलोग्राफी र स्नायु सञ्चालन परीक्षण एनसीभी सुरु गरेको छ । यस्तै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेसन प्रयोगशाला तथा बर्न युनिट बिस्तार गरेको छ । कोशी अस्पताल विराटनगरले निःसन्तान उपार सेवा आइभीएफ सुरु गरेको छ । भेरी अस्पताल नेपालगञ्जले चैत्र महिनाभित्र आइसीयुमा दुई शय्या तथा बर्न वार्डमा दुई समेत थप गरी आठ शय्या विस्तार गरेको छ ।
तनहुँको दुलेगौंडास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले हेमोडाइलासिस सेवा सुरु गरेको छ । भक्तपुर क्यान्सर अस्पतालले मुटुको इको तथा पिएफती सेवा आरम्भ गरेको छ । डडेलधुरा अस्पतालले भने एकै स्थानबाट प्रयोगशाला नमुना लिने गरी एकीकृत ल्याब नमुना संकलन सुरु गरेको छ । वीरगञ्जको नारायणी अस्पतालले एनआइसीयुमा विद्युतीय चिकित्सा प्रतिवेदन इउमआर लागु गरेको छ भने हिस्टोप्याथोलोजी, अडियोग्राम तथा कोलोप्सोकोपी र क्रियोथेरापी सेवा एकैसाथ सुरु गरेको छ ।
चैत्रभित्रै एमसिएच भवन तथा ल्याब मेसिन थप्ने बताएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यान ल्याब स्थापना गर्ने बताएको भरतपुर अस्पतालले भने सेवा सुरु गर्न सकेका छैनन् । ती दुवै अस्पतालले चाँडै सेवा थप्ने जानकारी मन्त्रालयमा सम्प्रेषण गरेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा थप तथा विस्तारका लागि भनेअनुसार मन्त्रालयले गत चैत्र पहिलो साता संघीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गरेको थियो ।