बिहान उठ्दा बच्चाको आँखा सुन्निएको देखियो भने धेरै अभिभावकले त्यसलाई निद्रा नपुगेको, एलर्जी भएको वा सामान्य समस्या ठानेर बेवास्ता गर्छन्। तर अनुहार, आँखा, खुट्टा वा शरीरका अन्य भाग बारम्बार सुन्निने, पिसाबमा अत्यधिक फिँज आउने र तौल एक्कासि बढ्नेजस्ता लक्षण नेफ्रोटिक सिन्ड्रोम नामक मिर्गौलाको गम्भीर समस्याका संकेत हुन सक्छन्। नेफ्रोटिक सिन्ड्रोम कस्तो रोग हो ? यसले बालबालिकामा पार्ने दिर्घकालिन आसर ? यसै विषयमा मार्क इन्टरनेसनल किड्नी सेन्टरकि बाल मिर्गौलारोग विशेषज्ञ डा. मन्दिरा श्रेष्ठसंग गरेको कुराकानिमा आधारित :
नेफ्रोटिक सिन्ड्रोम मिर्गौलासम्बन्धी एक रोग अवस्था हो, जसमा मिर्गौलाले शरीरका लागि आवश्यक प्रोटिनलाई जोगाउन नसकी पिसाबमार्फत अत्यधिक मात्रामा बाहिर निकाल्छ। यस कारण रगतमा प्रोटिनको मात्रा घट्छ र शरीरमा पानी जमेर सुन्निने समस्या देखिन्छ। यो अवस्था विशेषगरी २ देखि ५ बालबालिकामा देखिने गर्छ ।
सामान्य भाषामा मिर्गौलाको पिसाब छान्ने क्षमतामा गडबडी भएर पिसाबबाट प्रोटिन चुहिनु नै नेफ्रोटिक सिन्ड्रोम हो । नेफ्रोटिक सिन्ड्रोममा मिर्गौलाको सूक्ष्म फिल्टर (ग्लोमेरुलस) मा समस्या आउँदा शरीरलाई आवश्यक पर्ने प्रोटिन पिसाबमार्फत अत्यधिक मात्रामा बाहिर जान थाल्छ। फलस्वरूप रगतमा प्रोटिनको मात्रा घट्छ, शरीर सुन्निन्छ र संक्रमण तथा अन्य जटिलताको जोखिम बढ्न सक्छ।
नेफ्रोटिक सिन्ड्रोम किन हुन्छ ?
धेरैजसो बालबालिकामा यसको स्पष्ट कारण पत्ता लाग्दैन। यसलाई प्राइमरी (इडियोप्याथिक) नेफ्रोटिक सिन्ड्रोम भनिन्छ। केही अवस्थामा भने अन्य रोग वा अवस्थाका कारण पनि यो समस्या हुन सक्छ।
कारणहरू:
- संक्रमण
- वंशानुगत
- जन्मजात
- केही औषधिको असर (जस्तै: NSAIDs - आइबुप्रोफेन, नेप्रोक्सेन, बिस्फोस्फोनेट, लिथियम, गोल्ड थेरापी तथा पेनिसिलामाइन)
- सेकेन्डरी कारणहरू: ल्युपस (Systemic Lupus Erythematosus)
नेफ्रोटिक सिन्ड्रोमका लक्षण
- आँखा,अनुहार, खुट्टा वा शरीर सुन्निने
- पिसाबमा धेरै प्रोटिन जाने
- रगतमा प्रोटिनको मात्रा कम हुने
- पिसाबमा धेरै फिँज आउने
- कम पिसाब हुने अथवा रोकिने
- भोक कम लाग्ने
आँखा, अनुहार, हात वा खुट्टा सुन्निनु मात्रै नेफ्रोटिक सिन्ड्रोमको संकेत भने होइन। एलर्जी, संक्रमण, हर्मोनसम्बन्धी समस्या, मुटु, कलेजो वा मिर्गौलाका अन्य रोगलगायत विभिन्न कारणले पनि शरीर सुन्निन सक्छ। सुन्निएर केही समयपछि आफैं कम हुँदै गएमा धेरै अवस्थामा त्यो गम्भीर समस्या नहुन पनि सक्छ। तर सुन्निने क्रम दिनप्रतिदिन बढ्दै जाने, अनुहारसँगै हात, खुट्टा वा शरीरका अन्य भाग पनि सुन्निने, साथै माथि भनिएका लक्षण देखिएमा सकेसम्म चाँडो चिकित्सकसँग परामर्श लिनुपर्छ। समयमै परीक्षण गरेर कारण पत्ता लगाउन सके नेफ्रोटिक सिन्ड्रोमलगायत अन्य गम्भीर रोगको पनि उचित उपचार गर्न सकिन्छ।
नेफ्रोटिक सिन्ड्रोम र नेफ्राइटिक सिन्ड्रोममा के फरक छ ?
नेफ्रोटिक सिन्ड्रोम र नेफ्राइटिक सिन्ड्रोम दुवै मिर्गौलाको ग्लोमेरुलससँग सम्बन्धित रोग हुन् तर तिनको प्रकृति फरक हुन्छ। नेफ्रोटिक सिन्ड्रोममा ग्लोमेरुलसको फिल्ट्रेसन झिल्ली क्षतिग्रस्त भई अत्यधिक मात्रामा प्रोटिन पिसाबबाट बाहिर जान्छ, जसका कारण शरीरमा सुन्निनु रगतमा प्रोटिन घट्नु, र बोसो बढ्नु देखिन्छ। यसको विपरीत नेफ्राइटिक सिन्ड्रोममा ग्लोमेरुलसमा सूजन हुने भएकाले पिसाबमा रगत देखिने, प्रोटिन कम मात्रामा जाने, रक्तचाप बढ्ने र पिसाबको मात्रा घट्ने जस्ता लक्षण देखा पर्छन्। सरल रूपमा भन्नुपर्दा नेफ्रोटिकमा मुख्य समस्या प्रोटिन लिक हुनु हो भने नेफ्राइटिकमा सूजनका कारण रगत र अन्य तत्वहरू पिसाबमा जानु हो। दुवै रोगका केही लक्षण मिल्दोजुल्दो भए पनि सही निदानका लागि पिसाब, रगत तथा आवश्यक परे अन्य परीक्षण गरिन्छ।
यसको दिर्घकालिन आसर
९५ प्रतिशत बालबालिकामा ‘मिनिमल चेन्ज डिजिज (Minimal Change Disease)’ प्रकारको नेफ्रोटिक सिन्ड्रोम हुन्छ। यो प्रकार अधिकांशमा औषधि उपचारबाट राम्रो हुने र मिर्गौलाले सामान्य रूपमा काम गर्न थाल्ने सम्भावना उच्च हुन्छ।
तर केही बालबालिकामा भने रोग पटक–पटक दोहोरिन सक्छ वा लामो समयसम्म रहन सक्छ। यस्ता जटिल अवस्थामा मिर्गौलाको कार्यक्षमता क्रमशः घट्दै जान सक्छ र दुर्लभ अवस्थामा डायलाइसिस वा मिर्गौला प्रत्यारोपणसम्म गर्नुपर्ने अवस्था पनि आउन सक्छ। त्यसैले रोगलाई सामान्य ठानेर उपचार बीचमै छाड्नु उचित हुँदैन।
नेफ्रोटिक सिन्ड्रोम भएपछि अभिभावकले के–केमा ध्यान दिने
बच्चामा नेफ्रोटिक सिन्ड्रोम पुष्टि भएपछि अभिभावकले उपचारसँगै दैनिक हेरचाहमा विशेष ध्यान दिनुपर्छ। पिसाबमार्फत शरीरबाट प्रोटिन बढी मात्रामा बाहिरिने भएकाले चिकित्सक वा पोषणविद्को सल्लाहअनुसार सन्तुलित, पोषिलो र पर्याप्त प्रोटिनयुक्त आहार खुवाउनुपर्छ। साथै ताजा फलफूल, हरियो सागसब्जी र अन्य पोषणयुक्त खानेकुरा नियमित दिनुपर्छ।
चिकित्सकले तोकेको औषधि नियमित रूपमा र तोकिएको अवधिसम्म खुवाउनु अत्यन्त आवश्यक हुन्छ। बच्चाको अवस्था सुधारिएको वा लक्षण हराएको देखिए पनि चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्नु हुँदैन। औषधि बीचमै रोक्दा रोग पुनः बल्झिने वा जटिलता बढ्ने जोखिम रहन्छ।
ध्यान दिनुपर्ने मुख्य कुराहरू
- चिकित्सकले तोकेको औषधि नियमित रूपमा र पूरा अवधि खुवाउने।
- बच्चा निको भएजस्तो देखिए पनि चिकित्सकको सल्लाहबिना औषधि बन्द नगर्ने।
- चिकित्सक वा पोषणविद्को सल्लाहअनुसार सन्तुलित, पोषिलो र पर्याप्त प्रोटिनयुक्त आहार खुवाउने।
- ताजा फलफूल, हरियो सागसब्जी तथा उमेरअनुसार आवश्यक पोषणयुक्त खाना नियमित दिने।
- तारेका, पोलेका, अत्यधिक बोसोयुक्त, जंक फुड तथा बजारका प्रशोधित खानेकुरा सकेसम्म नखुवाउने।
- नुन तथा पानीको मात्रा चिकित्सकले सिफारिस गरेअनुसार मात्र दिने।
- उमेर र स्वास्थ्य अवस्थाअनुसार नियमित शारीरिक गतिविधि वा हल्का व्यायाम गराउने।
- संक्रमणबाट जोगाउन व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने।
- नियमित फलोअप र आवश्यक परीक्षण गराउँदै चिकित्सकको निगरानीमा राख्ने।
- चिकित्सकहरूका अनुसार उचित खानपान, नियमित औषधि, स्वस्थ जीवनशैली र नियमित फलोअपले नेफ्रोटिक सिन्ड्रोम भएका अधिकांश बालबालिकाले सामान्य र स्वस्थ जीवन बिताउन सक्छन्।