धेरैजसो मानिसलाई गाडीमा यात्रा गर्दा वाकवाकी लाग्ने वा बान्ता हुने समस्या हुन्छ। यसको मुख्य कारण शरीरको गति र मस्तिष्कले प्राप्त गर्ने सूचनाबीच हुने असन्तुलन हो। जसकारण गाडीमा चढ्नासाथ वाकवाकी लाग्ने, चक्कर आउने र बान्ता हुने समस्या हुन्छ। यस्तो अवस्थालाई ‘मोसन सिकनेस’ अर्थात् यात्राजन्य वाकवाकी भनिन्छ।
भित्री कानले शरीरको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। यसले शरीर कुन अवस्थामा छ, कति गतिमा चलिरहेको छ भन्ने जानकारी मस्तिष्कमा पुर्याउँछ। तर गाडीमा यात्रा गर्दा शरीर सिटमा स्थिर हुन्छ, जबकि गाडी भने निरन्तर चलिरहेको हुन्छ। यस क्रममा आँखाले देखेको र भित्री कान तथा शरीरले महसुस गरेको गतिबीच फरक पर्न सक्छ। उदाहरणका लागि, गाडी तीव्र गतिमा अघि बढिरहेको हुन्छ, घुमिरहेको हुन्छ वा उकालो–ओरालो गरिरहेको हुन्छ। आँखाले बाहिरका दृश्य तीव्र गतिमा परिवर्तन भएको देख्छ भने शरीर सिटमा स्थिर हुन्छ।
यस्तो ‘मिसम्याच’ हुँदा मस्तिष्कमा भ्रम उत्पन्न हुन्छ र वाकवाकी, चक्कर तथा बान्ता हुन सक्छ। कतिपय व्यक्तिमा यसको असर बढी देखिन्छ।
कसलाई बढी हुन्छ ?
मोसन सिकनेस जो–कोहीलाई हुन सक्छ। विशेषगरी बालबालिका, यात्रा गर्दा संवेदनशील हुने व्यक्ति, माइग्रेन भएका व्यक्ति तथा गर्भावस्थामा रहेका महिलामा यसको सम्भावना बढी देखिन सक्छ। गाडीमा मोबाइल हेर्ने, किताब पढ्ने वा तलतिर ध्यान केन्द्रित गर्ने गर्दा पनि समस्या बढ्न सक्छ। चालकलाई तुलनात्मक रूपमा कम हुने कारण उनीहरूले अगाडिको बाटो र गाडीको गतिमा ध्यान केन्द्रित गरिरहेका हुन्छन्।
यात्रा गर्दा बान्ता कम गर्न के गर्ने ?
मोसन सिकनेसबाट बच्न वा यसको लक्षण कम गर्न केही सावधानी अपनाउन सकिन्छ।
- यात्रा गर्नुअघि धेरै भारी वा चिल्लो खाना नखाने।
- हल्का र सजिलै पच्ने खाना खाने।
- सकेसम्म गाडीको अगाडितिर बसेर बाहिरको स्थिर वा टाढाको दृश्यतर्फ हेर्ने।
- यात्रा गर्दा मोबाइल हेर्ने वा किताब पढ्ने नगर्ने।
- गाडीभित्र पर्याप्त हावा आउने व्यवस्था गर्ने।
- लामो यात्रा हो भने बीच–बीचमा रोकिएर शरीर र खुट्टा तन्काउने।
- पानी सानो–सानो मात्रामा पिउने।
- अदुवा वा केही हल्का खानेकुरा चपाउँदा केही व्यक्तिलाई राहत मिल्न सक्छ।
- यात्रा गर्नुअघि वा यात्राका क्रममा मदिरा तथा धूम्रपान नगर्ने।
मोसन सिकनेसका लागि केही औषधि पनि प्रयोग गरिन्छ। यस्तो औषधि यात्रा सुरु गर्नु आधा घन्टा अघि लिनुपर्ने हुन्छ, तर कुन औषधि र कति मात्रामा लिने भन्ने विषयमा चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिनु उचित हुन्छ।
मोसन सिकनेस सामान्यतः गम्भीर रोग होइन। तर बारम्बार वा अत्यधिक बान्ता हुने, यात्रा नगर्दा पनि चक्कर वा वाकवाकी भइरहने, कानसम्बन्धी अन्य समस्या देखिने वा दैनिक जीवनमा असर पर्ने अवस्था छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ।
(मार्क इन्टरनेशनल किड्नी हस्पिटलका कन्सल्टेन्ट फिजिसियन डा. अक्षत मिश्रा संगको कुराकानिमा आधारित)