छाती पोल्नेबित्तिकै ‘ग्यास्ट्रिक भयो होला’ भनेर औषधि खाने र आफ्नो काममा लाग्ने बानी धेरैमा छ। छाती फुल्ने, दुख्ने वा पोल्ने समस्यालाई धेरैजसो मानिसले ग्यास्ट्रिकसँग जोडेर हेर्ने गर्छन्। पेट फुल्ने, डकार आउने वा मुखमा अमिलो पानी आउने भएकाले छातीको जलनलाई पाचन प्रणालीसँग जोडेर हेर्नु स्वाभाविक पनि हो। तर छातीमा हुने हरेक जलन वा दुखाइ ग्यास्ट्रिककै कारण हुन्छ भन्ने छैन।
कहिलेकाहीँ हामीले ग्यास्ट्रिक ठानेर बेवास्ता गरेको छातीको दुखाइ मुटुसम्बन्धी समस्याको संकेत हुन सक्छ। यसबाहेक फोक्सोमा संक्रमण, निमोनिया, फोक्सोमा हावा जम्ने समस्या, हड्डी तथा मांसपेशीको समस्या र छालासम्बन्धी समस्याका कारण पनि छाती दुख्न वा पोल्न सक्छ।
अझ ग्यास्ट्रिक अर्थात् एसिड रिफ्लक्सको जलन र मुटुको समस्या हुँदा हुने छातीको असहजता कतिपय अवस्थामा उस्तै महसुस हुन सक्छ। मुटुसम्बन्धी धेरै प्रकारका समस्या हुन्छन् र तीमध्ये केहीमा छाती दुख्ने वा पोल्ने लक्षण देखिन सक्छ। त्यस्तै छातीको भागमा हड्डी, मांसपेशी वा छालामा समस्या हुँदा पनि दुखाइ वा पोलाइ हुन सक्छ। छालासम्बन्धी संक्रमणमध्ये हर्पिस जोस्टर अर्थात् जनै खटिरा हुँदा छालाका नसामा संक्रमण भएर दुख्ने वा पोल्ने समस्या हुन सक्छ। शरीरको अन्य भागमा जमेको रगत फोक्सोमा आएर बस्ने अवस्थालाई पल्मोनरी एम्बोलिज्म भनिन्छ। यस्तो अवस्थामा पनि छाती दुख्ने वा पोल्ने हुन सक्छ।
त्यसैले छाती दुख्दा वा पोल्दा ग्यास्ट्रिक हो कि मुटुसम्बन्धी समस्या वा अन्य कुनै कारण भन्ने छुट्याउनु महत्वपूर्ण हुन्छ। विशेषगरी मुटुसम्बन्धी जोखिम भएका व्यक्तिले यस्तो लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ। यही कारण छाती पोल्ने वा दुख्ने समस्यालाई सामान्य ठानेर पटक–पटक ग्यास्ट्रिकको औषधि खाएर बस्नु उचित हुँदैन।
ग्यास्ट्रिकका कारण छाती पोल्ने हो कि मुटुको समस्या, कसरी छुट्याउने ?
यदि छाती पोल्ने वा दुख्ने समस्या ग्यास्ट्रिकका कारण भएको हो भने प्रायः छातीको बीच भागमा, विशेषगरी तल्लो भाग अर्थात् पेटको केही माथिल्लो क्षेत्रबाट समस्या सुरु भएको महसुस हुन सक्छ। यसमा बढी जलन वा पोल्ने अनुभव हुन्छ। यससँगै पेट फुलेको जस्तो हुने, डकार आउने, कब्जियत हुने, अपच हुने वा मुखमा अमिलो पानी आउनेजस्ता लक्षण पनि देखिन सक्छन्। यस्ता लक्षण ग्यास्ट्रिक वा ग्यास्ट्राइटिससँग सम्बन्धित हुन सक्छन्।
तर मुटुको समस्यामा देखिने छातीको दुखाइ वा असहजता फरक प्रकृतिको हुन सक्छ। विशेषगरी हृदयाघातको अवस्थामा छाती भारी हुने, पुरै छातीमा दबाब परेको जस्तो हुने वा माथिबाट कुनै वस्तुले थिचेजस्तो महसुस हुन सक्छ। कतिपय अवस्थामा बिरामीले छातीको कुन भागमा बढी समस्या भएको हो भनेर छुट्याउनसमेत गाह्रो हुन सक्छ। यस्तो दुखाइ विस्तारै बायाँ हाततिर जान सक्छ। काँध, ढाड तथा कहिलेकाहीँ पेटको माथिल्लो भागतिर पनि दुखाइ सर्न सक्छ।
ग्यास्ट्रिक वा ग्यास्ट्राइटिसको समस्यामा प्रायः जलन हुने भए पनि मुटुसम्बन्धी समस्यामा भारीपन र दबाबको अनुभव बढी हुन सक्छ। मुटुसम्बन्धी दुखाइ शरीरका अन्य भागमा सर्न सक्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्छ।
मुटुको समस्यामा देखिने लक्षण
मुटुसम्बन्धी समस्या हुँदा छाती दुख्ने वा भारी हुनेसँगै मुटु ढुकढुक गर्ने, सास फेर्न अप्ठ्यारो हुने, निःश्वासिएजस्तो हुने, डर वा बेचैनी हुनेजस्ता लक्षण पनि देखिन सक्छन्। कतिपयलाई ‘म मरिहाल्छु कि’ जस्तो डर लाग्न सक्छ। त्यस्तै वाकवाकी हुने, उल्टी आउने, अत्यधिक पसिना आउने, चक्कर लाग्ने वा चक्कर लागेर ढल्नेसम्म हुन सक्छ।
ग्यास्ट्रिकको लक्षण र मुटुको लक्षण कतिपय अवस्थामा एकअर्कासँग मिल्न सक्छन्। चिकित्सकीय इतिहास र सामान्य लक्षणबाट मात्र पनि यी दुईलाई सधैँ स्पष्ट रूपमा छुट्याउन नसकिने भएकाले शंका लागेमा परीक्षण आवश्यक हुन्छ।
कसलाई मुटुको समस्या हुने जोखिम बढी हुन्छ?
ग्यास्ट्रिकको समस्या हुने आफ्नै कारण हुन सक्छन्। खानपान नमिल्नु, ग्यास्ट्रिक बढाउने औषधिको सेवन, निद्राको समस्या वा अत्यधिक तनावले पनि ग्यास्ट्रिक बढाउन सक्छ। तर मुटुसम्बन्धी समस्या निम्त्याउने विभिन्न जोखिम कारक हुन्छन्। उमेर बढ्दै जाँदा यसको जोखिम बढ्छ। महिलामा ५५ वर्षभन्दा माथि र पुरुषमा ४५ वर्षभन्दा माथिको उमेरमा मुटुसम्बन्धी समस्याको जोखिम बढी हुन सक्छ।
त्यस्तै उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, परिवारमा बुवा–आमा वा अन्य नजिकका सदस्यलाई मुटुसम्बन्धी समस्या भएको इतिहास भएमा जोखिम बढ्न सक्छ। मिर्गौलासम्बन्धी दीर्घरोग, डायलासिसमा रहेका बिरामी तथा अन्य दीर्घरोग भएका व्यक्तिले पनि छातीको समस्यालाई सामान्य रूपमा लिनु हुँदैन। धूम्रपान, मदिरा सेवन तथा अन्य लागू पदार्थको प्रयोगजस्ता उच्च जोखिमयुक्त बानी भएका व्यक्तिमा कम उमेरमै पनि मुटुसम्बन्धी समस्या देखिन सक्छ।
ग्यास्ट्रिकको औषधि खाएपछि आराम भयो भने ?
छाती पोल्ने वा दुख्नेबित्तिकै धेरैजसोले घरमै ग्यास्ट्रिकको औषधि, सिरप वा झोल खाने गर्छन्। औषधि खाएपछि तुरुन्तै आराम भयो र मुटुसम्बन्धी अन्य कुनै लक्षण छैन भने ग्यास्ट्रिकका कारण भएको हुन सक्ने सम्भावना हुन्छ। तर ग्यास्ट्रिकको औषधिले आराम भयो भन्दैमा मुटुको समस्या पूर्ण रूपमा छैन भन मिल्दैन।
कतिपय अवस्थामा आराम गर्दा वा तनाव कम हुँदा मुटुसम्बन्धी दुखाइ पनि कम भएको महसुस हुन सक्छ। त्यसैले औषधि खाएर लक्षण घट्यो भन्दै वास्तविक कारण पहिचान नगरी बस्नु हुँदैन। बारम्बार छाती पोल्ने वा दुख्ने, औषधि खाएपछि केही समय आराम हुने र फेरि उस्तै समस्या दोहोरिने अवस्था छ भने चिकित्सकसँग परामर्श गर्नु आवश्यक हुन्छ।
ग्यास्ट्रिकको औषधि आफु खुसि धेरै खादाँ हुने जोखिम ?
कतिपय मानिसमा छाती पोल्ने वा दुख्ने समस्या बारम्बार हुन्छ। ग्यास्ट्रिकको औषधि खाएपछि केही समय आराम हुन्छ, फेरि समस्या आउँछ यस्तो क्रम दोहोरिरहँदा समस्या केवल ग्यास्ट्रिककै कारण हो भनेर बस्नु हुँदैन। कतिपय अवस्थामा औषधिले होइन, आराम गर्दा वा तनाव कम हुँदा समस्या कम भएको हुन सक्छ। यस्तो अवस्थामा बिरामीले थाहा नपाइकन समस्यालाई ग्यास्ट्रिक भनेर मुटुसम्बन्धी समस्यालाई बेवास्ता गरिरहन सक्छ। यसले भविष्यमा मुटुसम्बन्धी समस्या गम्भीर बन्ने र हृदयाघातको जोखिमसमेत बढ्न सक्ने अवस्था आउन सक्छ।
त्यसैले लामो समयसम्म ग्यास्ट्रिकको औषधि आफूखुसी खाइरहनु हुँदैन। लामो समयसम्म ग्यास्ट्रिकको समस्या रहँदा अल्सरलगायतका जटिलता हुन सक्छन् र केही अवस्थामा गम्भीर रोगको जोखिम पनि हुन सक्छ। लामो समय औषधि सेवन गर्दा केही पोषक तत्त्व तथा भिटामिन शरीरमा अवशोषण हुने प्रक्रियामा असर पर्न सक्ने भएकाले चिकित्सकको सल्लाह आवश्यक हुन्छ।
छाती दुख्ने समस्या भए के गर्ने ?
सबैभन्दा महत्वपूर्ण कुरा छातीको समस्या ग्यास्ट्रिक, मुटुसम्बन्धी समस्याका कारण हो वा अन्य कारणले हो भन्ने पहिचान गर्नु हो। एउटै लक्षण बारम्बार दोहोरिरहेको छ भने चिकित्सकको सल्लाह लिनुपर्छ। यदि ग्यास्ट्रिककै समस्या भएको पुष्टि भएको छ भने चिकित्सकको सल्लाहअनुसार औषधि सेवनसँगै जीवनशैली परिवर्तन गर्नुपर्छ। यदि मुटुसम्बन्धी समस्या देखिएमा त्यसअनुसार उपचार र जोखिम नियन्त्रणमा ध्यान दिनुपर्छ।
मुटुसम्बन्धी समस्या भएका व्यक्तिले उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल तथा मिर्गौलासम्बन्धी समस्या भए नियन्त्रणमा राख्नुपर्छ। धूम्रपान तथा मदिरा सेवन गर्ने बानी छ भने त्याग्न वा कम गर्नुपर्छ। नियमित व्यायाम गर्ने, स्वस्थ तथा सन्तुलित खाना खाने, नुनको मात्रा कम गर्ने, फलफूल तथा तरकारी पर्याप्त खाने र तनाव कम गर्ने प्रयास गर्नुपर्छ। पर्याप्त निद्रा पनि आवश्यक हुन्छ।
ग्यास्ट्रिक भए खानपानमा के ध्यान दिने ?
ग्यास्ट्रिकको समस्या भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ। धेरै पिरो तथा अमिलो खानेकुरा कम गर्ने, चिल्लो तथा तेलमा तारेका खानेकुरा नखाने, अत्यधिक क्याफिनयुक्त खानेकुरा वा पेय पदार्थले समस्या बढाउँछ भने त्यसलाई कम गर्ने गर्नुपर्छ।
धूम्रपान तथा मदिरा सेवन नगर्ने, तनाव नियन्त्रणमा राख्ने र पर्याप्त निद्रा लिने बानी पनि महत्वपूर्ण हुन्छ। खानपान र जीवनशैलीमा सुधार ल्याउँदा ग्यास्ट्रिकका लक्षण नियन्त्रण गर्न सहयोग पुग्न सक्छ।
ग्यास्ट्रिक र मुटु दुवैजस्तो लाग्यो भने ?
यदि छाती दुख्ने वा पोल्ने समस्या ग्यास्ट्रिकजस्तो पनि लाग्छ र मुटुको समस्याजस्तो पनि लाग्छ भने जोखिमलाई हल्का रूपमा लिनु हुँदैन। विशेषगरी दीर्घरोग भएका, उमेर बढी भएका, धूम्रपान वा मदिरा सेवन गर्ने, अत्यधिक तनावमा काम गर्ने वा मुटुसम्बन्धी जोखिम भएका व्यक्तिले भर्याङ चढ्दा, भारी सामान उठाउँदा वा मुटुलाई बढी काम गराउने कुनै शारिरिक गतिविधिका क्रममा छाती पोल्ने वा भारी हुने भएको छ भने त्यस्तो काम तत्काल बन्द गरेर आराम गर्नुपर्छ। त्यसपछि नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउनुपर्छ।
यस्तो अवस्थामा आफूखुसी कुनै पनि प्रकारको औषधि किनेर खानु जोखिमपूर्ण हुन सक्छ। साथै, मुटुसम्बन्धी समस्या भएको शंका भए आफैँ सवारी चलाएर अस्पताल जानु हुँदैन। डर र तनावका कारण पनि अवस्था थप असहज हुने भएकाले परिवार वा अन्य व्यक्तिको सहयोग लिनुपर्छ।
मुटुसम्बन्धी समस्या भएको शंका लागेमा तीन कुरा विशेष ध्यान दिनुपर्छ– आफूखुसी औषधि नखाने, आराम गर्ने र आफैँ सवारी चलाएर अस्पताल नजाने। चिकित्सकको सल्लाह लिनु नै सुरक्षित उपाय हो।
यदि पहिले नै चिकित्सकले ग्यास्ट्रिकको समस्या भएको पुष्टि गरी उपचार गरिसकेको अवस्था हो र अहिले पनि त्यस्तै लक्षण देखिएको छ भने चिकित्सकले दिएको औषधि प्रयोग गर्न सकिन्छ। तर औषधि सेवन गरेपछि पनि केही समयसम्म आराम भएन, दुखाइ वा पोलाइ कम भएन, लक्षण बढ्दै गयो वा नयाँ लक्षण थपिए भने तुरुन्त अस्पताल जानुपर्छ।
समस्या दोहोरिरहन्छ भने ग्यास्ट्रिकको औषधि आफैँ खाएर लक्षण दबाउनुको सट्टा चिकित्सकसँग जाँच गराउनु नै सबैभन्दा सुरक्षित उपाय हो।
(निसर्ग हस्पिटलका फिजिसियन डा. लक्ष्मी राज भट्टसंग गरेको कुराकानि)