काठमाडौं । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाउन स्वास्थ्य बीमा बोर्डले महत्वपूर्ण निर्णय गरेको छ।
स्वास्थ्य बीमा बोर्डको २०८३ भदौ २२ गतेको निर्णयअनुसार, २०८३ भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट अति प्रभावित तीनवटै जिल्लालाई नेपाल सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा स्वास्थ्य बीमा सेवा सहज बनाउने निर्णय गरिएको हो।
निर्णयअनुसार विपद् सङ्कटग्रस्त क्षेत्र तोकिएको अवधिसम्म रसुवा, नुवाकोट र धादिङका स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थामा स्वास्थ्य बीमामा लाग्ने सहभुक्तानी (Co-payment) र क्यापिङ हटाइनेछ।
यससँगै बाढी प्रभावित क्षेत्रका बिमितसँग स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा पनि उपचारबाट वञ्चित हुनुपर्ने छैन। सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको IMIS-User प्रणालीमार्फत बिमितको स्वास्थ्य बीमा नम्बर यकिन गरी स्वास्थ्य बीमा सेवा उपलब्ध गराउन सकिनेछ।
बाढी तथा विपद्का कारण स्वास्थ्य बीमा परिचयपत्र हराएका वा साथमा नभएका नागरिकलाई उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। बोर्डले उक्त निर्णयअनुसार सेवा प्रवाह गर्न सम्बन्धित स्वास्थ्य बीमा सेवा प्रदायक संस्था तथा सरोकारवाला सबैलाई जानकारी गराएको छ।
