काठमाडौँ। नेपाल नेत्रज्योति सङ्घले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ।
सङ्घका महासचिव भरतबहादुर चन्दले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक तथा भौचर हस्तान्तरण गरे। सङ्घका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखाबाट रु ९९ लाख ७४ हजार ५०६ र कर्मचारी तथा स्वयंसेवकबाट रु ४१ लाख ६६ हजार ६३५ सङ्कलन गरिएको हो।
सङ्घले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा परीक्षण, उपचार तथा परामर्श सेवा समेत उपलब्ध गराइरहेको जनाएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा भौतिक क्षति भएको थियो।