हाम्रो शरीरका प्रत्येक अंगले आ–आफ्नो महत्वपूर्ण काम गरिरहेका हुन्छन्। शरीरको ऊर्जा उत्पादनदेखि लिएर विभिन्न शारीरिक प्रक्रियालाई सन्तुलनमा राख्न हर्मोनको महत्वपूर्ण भूमिका हुन्छ। यस्तै आवश्यक हर्मोन उत्पादन गर्ने ग्रन्थिमध्ये एक हो थाइराइड ग्रन्थि। यो घाँटीको अगाडिको भागमा रहेको सानो ग्रन्थि हो, जसले शरीरलाई आवश्यक थाइराइड हर्मोन उत्पादन गर्छ।
थाइराइड कुनै रोगको नाम होइन, यो हाम्रो घाँटीमा रहेको एउटा महत्वपूर्ण ग्रन्थि हो। यसले शरीरकालागि आवश्यक थाइराइड हर्मोन उत्पादन गर्छ। यही हर्मोन शरीरको ऊर्जा उत्पादन, शरीरमा हुने विभिन्न रासायनिक प्रक्रियालाई सन्तुलित राख्न महत्वपूर्ण हुन्छ।
थाइराइड ग्रन्थिले आवश्यकताभन्दा कम वा बढी हर्मोन उत्पादन गर्दा समस्या देखिन्छ। हर्मोन कम उत्पादन हुने अवस्थालाई हाइपोथाइराइडिजम र बढी उत्पादन हुने अवस्थालाई हाइपरथाइराइडिजम भनिन्छ। हाइपोथाइराइडिजममा शरीरमा थाइराइड हर्मोनको मात्रा कम हुन्छ। यस्तो अवस्थामा मानिसलाई जाँगर नहुने, थकान महसुस हुने, निद्रा बढी लाग्ने, भोक कम लाग्ने तर तौल बढ्दै जानेजस्ता समस्या देखिन सक्छन्। भने हाइपरथाइराइडिजममा लक्षण उल्टो देखिन्छ शरीर तातो हुने, हातखुट्टामा पसिना आउने, अस्वाभाविक रूपमा सक्रिय हुने, भोक बढी लाग्ने तर तौल घट्दै जाने र हात काम्नेजस्ता लक्षण देखिन सक्छन्।
के कारणले हुन्छ थाइराइड ?
थाइराइडमा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । हर्मोनको कमीले गर्दा हाइपोथाइरिटिजम समस्या बढी देखिने हुन्छ। पहिले आइडिनको कमीले गर्दा हर्मोन कमी हुन्थ्यो, तर अहिले थाइराइड शरीरको आफ्नै कारण (अटो इम्युन) तथा वंशाणुगत कारणले गर्दा हुन्छ।
महिलामा थाइराइडको समस्या किन बढी ?
पुरुषको तुलनामा महिलामा थाइराइडको समस्या बढी देखिन्छ। विशेषगरी अटोइम्युन रोगहरू महिलामा बढी देखिने भएकाले हाइपोथाइराइडिजमको जोखिम पनि महिलामा बढी हुन्छ। खासगरी १८ देखि ४० वर्ष उमेरसमूहका प्रजनन उमेरका महिलालाई बढी सताउँछ । यसमा वंशाणुगत कारणको पनि भूमिका हुन सक्छ ।
त्यसैले परिवारमा कसैलाई थाइराइडको समस्या छ भने आफूले पनि समय–समयमा परीक्षण गराउनु उचित हुन्छ। तौल बढ्दै जाने, अत्यधिक थकान हुने, निद्रा बढी लाग्ने वा गर्भधारणमा समस्या देखिएमा पनि चिकित्सकको सल्लाह लिनुपर्छ।
गर्भावस्थामा थाइराइड किन महत्वपूर्ण ?
महिलाको जीवनमा गर्भावस्था यस्तो अवस्था हो, जहाँ शरीरमा विभिन्न हर्मोनको आवश्यकता र परिवर्तन हुन्छ। गर्भावस्थामा थाइराइड हर्मोनको आवश्यकता पनि बढ्छ। शरीरले आवश्यकताअनुसार पर्याप्त हर्मोन उत्पादन गर्न नसक्दा गर्भावस्थामा थाइराइडको समस्या देखिन सक्छ।
गर्भावस्थामा थाइराइड हर्मोनको कमीलाई भने बेवास्ता गर्नु हुँदैन। गर्भावस्थामा थाइराइड हर्मोनको कमी भएमा आमासँगै गर्भमा रहेको बच्चाको विकासमा समेत असर पर्न सक्छ। बच्चाको मस्तिष्क तथा मानसिक विकासका लागि थाइराइड हर्मोन अत्यन्त आवश्यक हुन्छ। यसको कमीले बच्चाको विकास तथा बौद्धिक क्षमतामा असर पर्न सक्छ। त्यसैले गर्भवती महिलामा थाइराइडको परीक्षण र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन महत्वपूर्ण हुन्छ। कतिपय महिलामा थाइराइडको समस्या हुँदा गर्भधारण गर्न पनि कठिनाइ हुन सक्छ। गर्भ नबस्ने वा पटक–पटक गर्भ खेर जाने समस्या भएमा थाइराइड परीक्षणसमेत गर्नुपर्ने हुन सक्छ।
थाइराइडको उपचार कसरी हुन्छ ?
हाइपोथाइराइडिजम भनेको शरीरमा आवश्यक थाइराइड हर्मोन कम हुनु हो। यसलाई अनावश्यक रूपमा ठूलो रोगका रूपमा लिनु पर्दैन। शरीरले आवश्यक मात्रामा उत्पादन गर्न नसकेको हर्मोन औषधिमार्फत पूर्ति गर्नु नै यसको मुख्य उपचार हो।
औषधिको मात्रा भने सबैका लागि समान हुँदैन। शरीरलाई जति हर्मोन आवश्यक पर्छ, त्यहीअनुसार चिकित्सकले औषधिको डोज बढाउने वा घटाउने गर्छन्। गर्भावस्थामा हर्मोनको आवश्यकता बढ्ने भएकाले औषधिको मात्रा बढाउनुपर्ने हुन सक्छ भने उमेर बढ्दै जाँदा आवश्यकता कम हुन सक्छ र सोहीअनुसार डोज घटाउन सकिन्छ।
अटोइम्युन कारणले भएको हाइपोथाइराइडिजम धेरैजसो अवस्थामा पूर्ण रूपमा निको नहुन सक्छ। तर अन्य अस्थायी कारणले भएको अवस्थामा उपचारसँगै औषधिको मात्रा घटाउँदै बन्द गर्न सकिने अवस्था पनि हुन्छ। त्यसैले हाइपोथाइराइडिजममा नियमित औषधि सेवन र समय–समयमा परीक्षण गर्नु महत्वपूर्ण हुन्छ।
तर हाइपरथाइराइडिजममा उपचार केही फरक हुन्छ। हर्मोन अत्यधिक बढेको अवस्थामा औषधिसँगै आवश्यकताअनुसार रेडियोएक्टिभ आयोडिन वा शल्यक्रियामार्फत थाइराइड ग्रन्थिको उपचार गर्नुपर्ने अवस्था पनि हुन सक्छ।
थाइराइड हुँदा खाना बार्न हुन्छ कि हुदैन् ?
थाइराइड भएका सबैले विशेष प्रकारको खाना मात्र खानुपर्छ भन्ने हुँदैन। सामान्य सन्तुलित खाना खान सकिन्छ। बन्दाकोभीलगायतका सामान्य तरकारी खानै नहुने भन्ने धारणा पनि सही होइन। तर हाइपोथाइराइडिजममा तौल बढ्ने समस्या हुन सक्ने भएकाले अत्यधिक चिल्लो, गुलियो, तारेका तथा जंकफुडजस्ता खानेकुरा कम गर्नु राम्रो हुन्छ। सन्तुलित आहार र नियमित व्यायाममा ध्यान दिनुपर्छ।
कस्ता व्यक्तिमा थाइराइडले बढि असर गर्छ ?
थाइराइडको समस्या विशेषगरी प्रजनन उमेरका महिलामा बढी देखिन सक्छ। गर्भधारण गर्न कठिनाइ भइरहेको, बारम्बार गर्भ खेर जाने वा गर्भावस्थामा समस्या देखिने महिलाले थाइराइड परीक्षण गराउनु महत्वपूर्ण हुन्छ। विशेषगरी १८ देखि ४० वर्ष उमेरका महिलाले आवश्यकताअनुसार थाइराइड जाँच गराउनु उचित हुन्छ।
त्यस्तै, मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी दीर्घरोग भएका व्यक्तिले पनि थाइराइडमा ध्यान दिनुपर्छ। थाइराइड अनियन्त्रित हुँदा कोलेस्ट्रोल बढ्नुका साथै मुटु, मधुमेह र रक्तचापसम्बन्धी समस्या झन् बढ्न सक्छ। यसले मधुमेह, रक्तचाप र मुटुरोगलाई समेत नियन्त्रण गर्न कठिन बनाउन सक्छ।
त्यसैले यस्ता दीर्घरोग तथा परिवारमा थाइराइडको इतिहास भएका व्यक्तिले समय–समयमा थाइराइड परीक्षण गराइराख्नुपर्छ। थाइराइडको समस्या देखिएमा समयमै उपचार गर्दा अन्य रोग नियन्त्रण गर्न र जटिलता बढ्न नदिन पनि सहयोग पुग्छ।
थाइराइडलाई लिएर अनावश्यक डराउनुपर्ने अवस्था छैन। समयमै पहिचान, नियमित परीक्षण, आवश्यक उपचार र स्वस्थ जीवनशैली अपनाएमा यसलाई प्रभावकारी रूपमा नियन्त्रणमा राख्न सकिन्छ।
(मार्क इन्टरनेशनल किड्नी हस्पिटलका कन्सल्टेन्ट फिजिसियन डा. अक्षत मिश्रा संगको कुराकानिमा आधारित)