काठमाडौँ । जाडो सुरु भएसँगै ओठ सुख्खा हुने, फुट्ने, पोल्ने र दुख्ने समस्या धेरैलाई सताउन थाल्छ। चिसो हावा, कम आर्द्रता र शरीरमा पानीको कमीले ओठको संवेदनशील छालालाई असर गर्दा यस्तो समस्या देखिन सक्छ।
ओठको छाला शरीरका अन्य भागको तुलनामा पातलो र संवेदनशील हुने भएकाले चिसो, सुख्खा हावा र घामको प्रभावबाट छिट्टै प्रभावित हुन्छ। पर्याप्त पानी नपिउनु, बारम्बार ओठ चाट्नु, धूमपान तथा कम गुणस्तरका लिपस्टिक वा लिपबाम प्रयोग गर्नु पनि ओठ फुट्ने कारण हुन सक्छ।
ओठ फुट्नबाट जोगिने उपाय :
- ओठमा नियमित रूपमा पेट्रोलियम जेली वा सुगन्धरहित लिपबाम लगाउने।
- बाहिर निस्कँदा ओठलाई चिसो हावा र घामबाट जोगाउने।
- पर्याप्त पानी पिउने र फलफूल तथा सागसब्जी खाने।
- बारम्बार ओठ चाट्ने बानी हटाउने।
- ओठमा जमेको मृत छाला नङले कोट्याउने वा तान्ने नगर्ने।
- जलन गराउने वा एलर्जी हुने लिपस्टिक तथा लिपबाम प्रयोग नगर्ने।
ओठ फुट्ने समस्या लामो समयसम्म निको नभए, अत्यधिक दुख्ने, सुन्निने वा घाउ हुने भए चिकित्सकसँग परामर्श लिनुपर्छ।