काठमाडौं । सरकारले चिकित्सा शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका लागि सरोकारवालासँग छलफल अघि बढाएको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका बाँकी काम र नीतिगत समस्याबारे समीक्षा गरिएको हो।
बैठकमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिइएको थियो। साथै, वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापनबीच देखिएको विवाद समाधान गर्न समिति गठन गर्ने तथा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा छलफल भएको छ।
त्यसैगरी, कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गर्ने विषयले पनि बैठकमा प्रवेश पाएको थियो।
शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा देखिएका समस्या नीतिगत रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्रीलगायतको सहभागिता रहेको बैठकले चिकित्सा शिक्षाको गुणस्तर सुधार र अन्तरनिकाय समन्वयलाई तीव्रता दिने निष्कर्ष निकालेको छ।