धनगढी । ११ महिने छोराको ओठ फाटेको समस्याको उपचार गराउन धनगढीस्थित निसर्ग हस्पिटल पुगेकी बझाङकी ४२ वर्षीया गीता विष्टले आफूले पनि निःशुल्क उपचार पाएकी छन्।
बझाङको केदारस्युँ गाउँपालिका–२ की गीता जन्मजात ओठ फाटेको समस्यासहित जन्मिएकी थिइन्। यही समस्याका कारण उनले ४२ वर्षसम्म सामाजिक रूपमा विभिन्न अप्ठ्यारा र संकोच भोग्दै आएकी थिइन्।
११ महिनाअघि छैटौँ सन्तानका रूपमा छोराको जन्म हुँदा उसमा पनि आफूलाई जस्तै ओठ फाटेको समस्या देखिएपछि उनी चिन्तित बनिन्। छोराको उपचारका लागि विभिन्न ठाउँमा पुगे पनि उपचार सम्भव नभएपछि गाउँकै स्वास्थ्यकर्मीको सुझावमा उनी निसर्ग अस्पताल पुगेकी थिइन्।
तर अस्पताल पुगेपछि छोरासँगै आफ्नो पनि उपचार सम्भव हुने थाहा पाएपछि उनी खुसी भइन्। अन्ततः अस्पतालमा आमा–छोरा दुवैको ओठ फाटेको समस्याको निःशुल्क उपचार गरिएको छ।
‘छोराको मात्रै उपचार हुन्छ भन्ने सोचेकी थिएँ। आफ्नो पनि उपचार हुन्छ भन्ने लागेको थिएन। दुवैको उपचार भयो, एक रुपैयाँ पनि खर्च लागेन,’ गीताले खुसी हुँदै भनिन्। निसर्ग हस्पिटलले गैरनाफामूलक संस्था स्माइल ट्रेनसँगको सहकार्यमा जन्मजात ओठ तथा तालु फाटेका बालबालिकाको निःशुल्क उपचार गर्दै आएको छ।
यस कार्यक्रमअन्तर्गत शल्यक्रिया, अस्पताल भर्ना, औषधि तथा आवश्यक परीक्षणसँगै बिरामी र कुरुवाको यातायात, खानपान तथा बसोबास खर्चसमेत निःशुल्क उपलब्ध गराइँदै आएको अस्पतालले जनाएको छ।