सर्लाही । नौ महिनाकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी तथा तोडफोड गरेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
बरहथवा नगरपालिका–५ की २१ वर्षीया सीमा रामदेवीको मृत्यु भएपछि आइतबार राति अस्पतालमा तनाव उत्पन्न भएको हो। बिरामी भएपछि उनलाई उपचारका लागि नगर अस्पताल लगिएको थियो। उपचारका क्रममा अवस्था गम्भीर बनेपछि थप उपचारका लागि अन्यत्र लैजाने क्रममा रौतहटको चन्द्रनिगाहपुरस्थित अस्पतालमा राति १०:५३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
चिकित्सकको लापरबाहीका कारण महिलाको मृत्यु भएको आरोप लगाउँदै आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा आगजनी गर्नुका साथै अस्पतालका भौतिक संरचनामा तोडफोड गरेका थिए। घटनामा केही चिकित्सकसमेत कुटपिटमा परेको बताइएको छ।
आगजनीबाट अस्पतालको आकस्मिक उपचार कक्षमा ठूलो क्षति पुगेको छ। अस्पतालका अनुसार घटनामा करिब ३० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का राजेश कुमार महरा र रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९ का भुनेसी महरा र राजन महरा रहेका छन्। घटनामा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार छन्।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ। महिलाको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा अन्य स्वास्थ्य जटिलताले भन्ने विषयमा पुष्टि हुन बाँकी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।