काठमाडौं । औषधि उत्पादनमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (९५ प्रतिशत इथानोल) को गुणस्तर सुनिश्चित गर्न औषधि व्यवस्था विभागले औषधि उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको छ।
विभागका अनुसार औषधिमा सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पिरिटको गुणस्तरले औषधिको प्रभावकारितामा असर पार्न सक्ने भएकाले मान्यताप्राप्त फार्माकोपियाले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्नेछ। भारतीय, बेलायती र अमेरिकी फार्माकोपियामा निर्धारित गुणस्तरअनुसारको स्पिरिट मात्र प्रयोग गर्न विभागले आग्रह गरेको छ। यो व्यवस्था सूचना प्रकाशित भएको ३५ दिनपछि अनिवार्य लागू हुनेछ।
यसैबीच विभागले क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन, कार्बोप्लाटिनलगायत प्लाटिनम समूहका औषधि तथा डायलाइसिस सोलुसनको बजार उपलब्धताबारे जानकारी गराएको छ। ती औषधिको अभाव हुन नदिन मौज्दात र वितरणको अभिलेख अद्यावधिक राख्न आयातकर्तालाई अनुरोध गरिएको छ।
त्यस्तै, प्राविधिक स्तरोन्नतिका कारण अवरुद्ध विभागको अनलाइन सेवा आजदेखि नियमित सञ्चालनमा आउने भएको छ।