नेपालगञ्ज । बाँकेको भेरी अस्पतालमा प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी र न्युरो सर्जरी सेवा सुरु भएको छ। अस्पतालले विशेषज्ञ सेवा विस्तार गर्ने क्रममा थप दुई सेवा सञ्चालनमा ल्याएको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी सेवा डा. नोबेल पोखरेल र न्युरो सर्जरी सेवा डा. आलोकचन्द्र ठाकुरले प्रदान गर्नेछन्।
नयाँ सेवा सुरु भएसँगै जलन तथा मस्तिष्क र स्नायुसम्बन्धी समस्या भएका बिरामीले भेरी अस्पतालबाटै विशेषज्ञ उपचार पाउने भएका छन्। यसअघि अस्पतालले गत कात्तिक १७ गतेदेखि फोक्सो तथा श्वासप्रश्वास, सघन उपचार र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा पनि सुरु गरेको थियो।
अस्पतालले सर्वसाधारणलाई सहज र सुलभ रूपमा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गर्दै आएको जनाएको छ।