काठमाडौं । स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यमले थप संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य उपचार, औषधि, अस्पतालको सुरक्षा तथा चिकित्सा प्रक्रियासम्बन्धी विषयमा पर्याप्त जानकारीबिना समाचार सम्प्रेषण हुँदा त्यसले नकारात्मक असर पार्न सक्ने भन्दै उनीहरूले जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याएका हुन्।
प्रेस काउन्सिल नेपालले बुधबार काउन्सिल सभाहलमा आयोजना गरेको ‘मिडियाप्रतिको जनगुनासो र आचारसंहिता’ विषयक अन्तरक्रियामा स्वास्थ्य क्षेत्रका प्रतिनिधि, चिकित्सक तथा अस्पतालका प्रमुखहरूले स्वास्थ्य समाचारमा तथ्यपरकता र संवेदनशीलता कायम गर्न आग्रह गरेका हुन्।
कार्यक्रममा सहभागीहरूले स्वास्थ्य क्षेत्रमा सञ्चारमाध्यमले नागरिकलाई सचेत बनाउने, स्वास्थ्य सेवाबारे जानकारी दिने र सुधारका लागि आवाज उठाउने महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै त्यसलाई थप जिम्मेवार बनाउनुपर्ने धारणा राखेका थिए। उपचार पद्धति, औषधिको प्रयोग तथा अस्पतालभित्रको सुरक्षा संवेदनशीलताका विषयमा नबुझी समाचार सम्प्रेषण गर्दा बिरामी, स्वास्थ्यकर्मी तथा संस्थामा नकारात्मक प्रभाव पर्न सक्ने उनीहरूको भनाइ थियो।
स्वास्थ्य क्षेत्र र सञ्चारमाध्यमबीच समाचार सम्प्रेषणका विषयमा समन्वय तथा संवाद आवश्यक रहेको भन्दै सहभागीहरूले प्रेस काउन्सिलले समन्वयकारी भूमिका खेल्नुपर्ने सुझाव दिएका छन्। आचारसंहिताविपरीत सम्प्रेषित समाचारको परीक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।
काउन्सिलका निमित्त अध्यक्ष नम्रता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसालले स्वागत तथा कार्यक्रमको औचित्य प्रष्ट पारेकि थिईन् । मिडिया अनुगमनकर्ता प्रकाश शर्माले कार्यक्रमको सहजीकरण गरेकाको थिए भने आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाका प्रमुख, चिकित्सक, स्वास्थ्य क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा प्रेस काउन्सिलका सदस्य र कर्मचारी सहभागी थिए।