जाडो मौसम सुरु भएसँगै तापक्रम घट्ने र चिसो बढ्ने गर्छ। मौसम परिवर्तनसँगै शरीरमा पनि विभिन्न परिवर्तन देखिन्छन्। विशेषगरी चिसो मौसममा उच्च रक्तचाप बढ्ने तथा हृदयघातको जोखिम गर्मीको तुलनामा बढी हुन सक्छ। चिसोले रक्तनली साँघुरो बनाउने, मुटुको काम बढाउने र रक्तचापमा परिवर्तन ल्याउने भएकाले उच्च रक्तचाप, मधुमेह, मिर्गौला तथा मुटुसम्बन्धी समस्या भएका व्यक्तिले जाडोमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
सामान्य व्यक्तिमा समेत चिसोका कारण रक्तचाप अस्थायी रूपमा बढ्न सक्छ। तर दीर्घरोग भएका तथा मुटुसम्बन्धी जोखिममा रहेका व्यक्तिमा यसको प्रभाव बढी देखिन सक्छ।
किन जाडोमा रक्तचाप र हृदयघातको जोखिम बढ्छ ?
चिसो मौसममा शरीरले आफ्नो तापक्रम कायम राख्न रक्तनलीहरू खुम्च्याउने गर्छ। विशेषगरी हात, खुट्टा र शरीरका बाहिरी भागमा रहेका रक्तनली चिसोका कारण साँघुरिन्छन्। चिकित्सकीय भाषामा यस प्रक्रियालाई भासोकन्स्ट्रिक्सन (Vasoconstriction) भनिन्छ।
रक्तनली साँघुरिँदा रगत प्रवाहका लागि कम ठाउँ उपलब्ध हुन्छ, जसले रक्तनलीभित्र दबाब बढाउन सक्छ। यही कारण चिसो मौसममा रक्तचाप बढ्ने सम्भावना हुन्छ। चिसो तापक्रममा शरीरको तापक्रम जोगाइराख्न छाला र बाहिरी भागका रक्तनलीहरू खुम्चिन्छन्। साँघुरिएको नलीबाट रगत प्रवाह गर्न मुटुले सामान्य अवस्थाभन्दा बढी दबाब दिनुपर्छ, जसले गर्दा रक्तचाप एक्कासि बढ्छ।
त्यसैगरी, चिसोले शरीरमा केही हर्मोन तथा रासायनिक पदार्थको सक्रियता बढाउँछ, जसले रक्तनलीलाई थप साँघुरो बनाउने र मुटुको धड्कन बढाउने गर्छ। यसले मुटुलाई रगत पम्प गर्न थप मेहनत गर्नुपर्ने अवस्था सिर्जना गर्छ। परिणामस्वरूप मुटुमा कामको भार बढ्न सक्छ र हृदयघात हुने जोखिम उच्च रहन्छ ।
घरभित्र न्यानो वातावरणमा बसेर एक्कासि बाहिर अत्यधिक चिसोमा निस्कँदा शरीरमा अचानक तनाव उत्पन्न हुन सक्छ। यस्तो अवस्थामा सामान्य व्यक्तिको रक्तचापसमेत अस्थायी रूपमा बढ्न सक्छ। तर उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग वा मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यसको प्रभाव बढी जोखिमपूर्ण हुन सक्छ।
उच्च रक्तचापका लक्षण कस्ता हुन्छन् ?
उच्च रक्तचापलाई प्रायः ‘साइलेन्ट किलर’ भनिन्छ। किनभने धेरै मानिसमा रक्तचाप बढ्दा कुनै स्पष्ट लक्षण देखिँदैन। रक्तचाप अत्यधिक बढेको अवस्थामा भने टाउको दुख्ने, टाउको भारी हुने, चक्कर लाग्ने, घबराहट महसुस हुने, मुटुको धड्कन बढेजस्तो हुने, सास फेर्न गाह्रो हुने वा छाती दुख्ने जस्ता लक्षण देखिन सक्छन्।
विशेषगरी टाउकोको पछिल्लो भाग दुख्ने, हिँड्दा चक्कर लाग्ने वा असहज महसुस हुने लक्षणलाई रक्तचापसँग जोडेर हेर्ने गरिए पनि यी लक्षण रक्तचापकै कारण हुन् भन्ने निश्चित हुँदैन। रक्तचाप जाँच नगरी लक्षणकै आधारमा उच्च रक्तचाप पहिचान गर्न सकिँदैन।
हृदयघात हुँदा कस्ता संकेत देखिन्छन्
हृदयघात हुँदा सबैलाई एकै किसिमका लक्षण देखिँदैनन्। कतिपयमा छातीमा तीव्र दुखाइभन्दा छाती भारी भएको, थिचेको वा कसिलो बनाएको जस्तो महसुस हुन सक्छ। छातीमा असहजता, अत्यधिक पसिना आउने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन असामान्य महसुस हुने जस्ता लक्षण पनि देखिन सक्छन्।
हृदयघातको दुखाइ छातीबाट हात, काँध, घाँटी, ढाड वा पेटको माथिल्लो भागतिर फैलिन सक्छ। विशेषगरी महिलाहरू, वृद्धवृद्धा र मधुमेह भएका व्यक्तिमा हृदयघातका लक्षण कम स्पष्ट वा फरक प्रकृतिका हुन सक्छन्। उनीहरूमा थकान, वाकवाकी, चक्कर वा सास फेर्न गाह्रो हुने लक्षण मात्र पनि देखिन सक्छ।
छातीमा भारीपन, सास फेर्न गाह्रो, चिसो पसिना वा अचानक असहजता देखिएमा हृदयघातको आशंका गर्नुपर्छ। यस्तो अवस्थामा तत्काल आकस्मिक स्वास्थ्य सेवा लिनु आवश्यक हुन्छ।
किन महिलाभन्दा पुरुष बढी जोखिममा हुन्छन् ?
सामान्यतया महिलाको तुलनामा पुरुषमा कम उमेरमै हृदयघात र मुटुसम्बन्धी समस्या देखिने गर्छ। महिलामा प्रजनन उमेरमा एस्ट्रोजेन हर्मोनको प्रभावले रक्तनलीको स्वास्थ्यमा केही सुरक्षात्मक भूमिका खेल्ने भएकाले मुटुसम्बन्धी जोखिम तुलनात्मक रूपमा कम हुन सक्छ।
पुरुषमा धूमपान, मद्यपान, अस्वस्थ खानपान, तनाव, उच्च रक्तचाप तथा अन्य जीवनशैलीसम्बन्धी जोखिम बढी देखिनु पनि हृदयघातको जोखिम बढाउने कारण हुन सक्छ। महिलाहरुमा पुरुषको तुल्नामा १०/१५ बर्ष पछि मात्र हृदयघात हुने गर्दछ ।
तर महिनावारी बन्द हुने अर्थात् मेनोपोजपछि महिलामा पनि मुटु तथा रक्तनलीसम्बन्धी जोखिम बढ्दै जान्छ। महिलामा पनि धूमपान, मद्यपान, मोटोपना, मधुमेह, उच्च रक्तचाप, अस्वस्थ खानपान, तनाव तथा परिवारमा मुटुरोगको इतिहास भए जोखिम बढ्न सक्छ।
त्यसैले मुटुरोग पुरुषको मात्र समस्या होइन। महिला तथा पुरुष दुवैले उमेर, पारिवारिक इतिहास र जीवनशैलीसम्बन्धी जोखिमलाई ध्यान दिन आवश्यक हुन्छ।
किन बढ्दैछ युवामा हृदयघात ?
विगतमा मुटुरोग ४० वर्ष कटेपछि लाग्ने रोगका रूपमा चिनिन्थ्यो । तर अहिले युवावस्थामै उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या र हृदयघात देखिन थालेको छ। यसको प्रमुख कारण जीवनशैलीमा आएको परिवर्तन मानिन्छ । अस्वस्थ खानपान, प्रशोधित तथा बोसोयुक्त खानेकुरा, शारीरिक गतिविधिको कमी, मोटोपन, तनाव, निद्राको कमी, धूमपान, मद्यपान र लागूपदार्थको प्रयोगले मुटुसम्बन्धी जोखिम बढाउने प्रमुख कारण को रुपमा लिन सकिन्छ ।
विशेषगरी कोकिनजस्ता लागूपदार्थले मुटु तथा रक्तनलीमा प्रत्यक्ष असर पार्न सक्छ। भेप तथा अन्य निकोटिनयुक्त पदार्थले पनि रक्तचाप, मुटुको धड्कन र रक्तनलीको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छन्। त्यसैले युवावस्थामै स्वस्थ जीवनशैली अपनाउनु आवश्यक हुन्छ।
उच्च रक्तचाप भएका व्यक्तिले व्यायाम गर्न मिल्छ ?
उच्च रक्तचाप भएका व्यक्तिका लागि नियमित व्यायाम निकै महत्त्वपूर्ण हुन्छ। शारीरिक गतिविधिले रक्तचाप नियन्त्रण गर्न, तौल व्यवस्थापन गर्न र मुटुको स्वास्थ्य सुधार गर्न सहयोग गर्छ। हिँड्ने, साइकल चलाउने, हल्का दौड, एरोबिक व्यायाम, योग तथा मांसपेशी बलियो बनाउने व्यायाम स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहअनुसार गर्न सकिन्छ।
त्यसैगरी, खानामा नुनको मात्रा घटाउनु, तौल नियन्त्रण गर्नु, पर्याप्त निद्रा लिनु, तनाव व्यवस्थापन गर्नु र धूमपान तथा मद्यपानबाट टाढा रहनु रक्तचाप नियन्त्रणका महत्त्वपूर्ण उपाय हुन्। तर रक्तचाप अत्यधिक बढेको, छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा अन्य आकस्मिक समस्या देखिएको अवस्थामा व्यायाम गर्नु हुँदैन। यस्तो अवस्थामा चिकित्सकीय मूल्याङ्कन आवश्यक हुन्छ।
रक्तचापको औषधि आफूखुसी छोड्दा हुने जोखिम
उच्च रक्तचाप भएका कतिपय व्यक्तिले औषधि सेवन गर्न थालेपछि जीवनभर औषधि खानुपर्ने डरले औषधि नखाने साथै रक्तचाप सामान्य देखिएपछि चिकित्सकको सल्लाहबिना औषधि सेवन बन्द गर्ने गर्छन्। जुन जोखिमपूर्ण हुन सक्छ।
रक्तचाप नियन्त्रणमा देखिनु औषधिले काम गरिरहेको संकेत पनि हुन सक्छ। औषधि अचानक बन्द गर्दा रक्तचाप पुनः बढ्न सक्छ र स्ट्रोक, हृदयघात, मिर्गौला क्षति तथा अन्य जटिलताको जोखिम बढ्न सक्छ। औषधिको मात्रा घटाउने, बढाउने वा बन्द गर्ने निर्णय चिकित्सकको सल्लाहअनुसार मात्र गर्नुपर्छ। जीवनशैलीमा सुधार महत्त्वपूर्ण भए पनि सबै बिरामीमा त्यसले मात्र रक्तचाप नियन्त्रण हुन्छ भन्ने हुँदैन।
जाडोमा मुटु स्वस्थ राख्न के गर्ने ?
जाडोमा मुटु तथा रक्तचापसम्बन्धी समस्या भएका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ। घरभित्र न्यानो वातावरणमा बसेर अचानक अत्यधिक चिसोमा निस्कँदा शरीरमा तापक्रमको परिवर्तनले असर गर्न सक्छ। त्यसैले बाहिर निस्कँदा न्यानो कपडा लगाउने, हातखुट्टा र शरीरलाई चिसोबाट जोगाउने तथा चिसो हावामा लामो समय नबस्ने गर्नुपर्छ।
विशेषगरी बिहानको चिसोमा शारीरिक गतिविधि गर्दा सावधानी अपनाउनुपर्छ। चिसो मौसममा बिहानको समयमा मुटुसम्बन्धी समस्या बढी देखिन सक्ने भएकाले जोखिम भएका व्यक्तिले अत्यधिक चिसोमा अचानक कडा व्यायाम नगर्नु राम्रो हुन्छ।
जाडोमा शारीरिक गतिविधि कम हुँदा तौल बढ्ने, कोलेस्ट्रोल बढ्ने र रक्तचाप नियन्त्रणमा कठिनाइ हुन सक्छ। त्यसैले घरभित्र वा सुरक्षित न्यानो वातावरणमा नियमित व्यायाम गर्ने, बोसोयुक्त तथा अत्यधिक नुन भएका खानेकुरा कम खाने, पर्याप्त पानी पिउने र नियमित स्वास्थ्य परीक्षण गराउने गर्नुपर्छ।
त्यसैगरी, जाडोमा श्वासप्रश्वाससम्बन्धी संक्रमण पनि बढ्न सक्छ। संक्रमण हुँदा शरीरमा अक्सिजनको माग, श्वासप्रश्वासको गति र मुटुको काम बढ्न सक्छ। विशेषगरी मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यस्तो संक्रमणले थप जटिलता निम्त्याउन सक्छ।
जाडोमा मुटुको स्वास्थ्य जोगाउन चिसोबाट बच्नु, नियमित रक्तचाप जाँच गर्नु, स्वस्थ खानपान अपनाउनु, शारीरिक रूपमा सक्रिय रहनु र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नु महत्त्वपूर्ण हुन्छ।
(निसर्ग हस्पिटलका फिजिसियन डा. लक्ष्मी राज भट्टसंग गरेको कुराकानि)