नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पतालले एक वर्षमा १९ हजारभन्दा बढीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा अस्पतालबाट १९ हजार ६०३ जनाले ओपिडी सेवा लिएका छन् । सेवा लिनेमा २ हजार ९७४ जना कुष्ठरोगका बिरामी रहेको अस्पताल प्रमुख मङ्गलबहादुर थारूले जानकारी दिए । सोही अवधिमा १४८ जनाले अन्तरङ्ग (भर्ना) सेवा लिएका छन् ।
२५ शय्याको अस्पतालले छालासम्बन्धी रोगको परीक्षण तथा उपचारसँगै कुष्ठरोगका कारण उत्पन्न जटिलताको पहिचान, उपचार र व्यवस्थापन गर्दै आएको छ । विभिन्न स्वास्थ्य शिविर तथा खोजपड्ताल कार्यक्रमबाट १९३ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । नयाँ पहिचान भएकामध्ये ८१ जना बाँकेका हुन् ।
अस्पताल तथा आइएनएफ नेपाल बाँकेको सामाजिक परीक्षण तथा सल्लाहकार समितिको बैठकमा अस्पतालको सेवा तथा उपलब्धिबारे जानकारी दिँदै थारूले समुदायस्तरमा खोजपड्ताल कार्यक्रम सञ्चालन गर्दा नयाँ बिरामी पहिचान हुने दर बढ्ने बताए ।
सरकारले सन् २०१० मा नेपाललाई कुष्ठरोग जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरे पनि नयाँ बिरामी पहिचान हुने क्रम जारी छ । बाँकेमा अझै कुष्ठरोगी पहिचान हुनु चिन्ताजनक रहेको भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले बताए ।
समुदायमै पुगेर रोग पहिचान, समयमै उपचार र जनचेतना अभिवृद्धि गर्न सके कुष्ठरोग नियन्त्रणमा सहयोग पुग्ने उहाँको भनाइ छ । नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोगमुक्त देश बनाउने लक्ष्य राखेको छ ।