मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा १४ वर्षीया बालिकामाथि यौन हिंसा गरेको आरोपमा उनका ससुरा नाता पर्ने ५५ वर्षीय पुरुष पक्राउ परेका छन् । पीडित बालिकालाई कुटपिट गरेको तथा उनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा २३ वर्षीय श्रीमान् पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटना कानेपोखरी गाउँपालिका–६ स्थित पीडितको घरमा गत कात्तिक २९ गते भएको हो ।
सुत्केरी बालिकामाथि ससुरा नाता पर्ने व्यक्तिले जबरजस्ती करणी गरेको भन्दै उनकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले आरोपित पुरुषलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि सुत्केरी श्रीमतिलाई साथ दिनुपर्ने श्रीमान् ले उल्टै ‘मेरो बुवासँग नाुजायज सम्बन्ध राखिस्’ भन्दै कुुटपिट गरेको र पीडितकी आमालाई अपमानित गर्ने उद्देश्यले भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ ।
प्रहरीले उक्त विषयमा श्रीमान्लाई पक्राउ गरी विद्युतीय अपराधसम्बन्धी तथा बालविवाहसम्बन्धी कसुरको कोणबाट समेत अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले महिला तथा बालबालिकाविरुद्ध हुने अपराधलाई गम्भीरताका साथ लिँदै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।