काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग संशोधन विधेयकबारे छलफल गरे ।
मन्त्रालयले तयार पारेको स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयक संसद्मा दर्ता गर्ने तयारी भइरहेको मन्त्रीको सचिवालयले जनाएको छ ।
प्रस्तावित संशोधनमा सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने, आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको उपचार खर्च राज्यले व्यहोर्ने तथा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषमार्फत उपलब्ध उपचार सुविधाबीच समन्वय गर्ने विषय समेटिएका छन् ।
त्यस्तै, बीमा सेवा सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
मन्त्रालयले आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित नहुने व्यवस्था सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रमको कानुनी तथा नीतिगत सुधार अघि बढाएको जनाएको छ ।