काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले विभिन्न प्रमाणपत्रका लागि आवेदन दिँदा चिकित्सकले थप कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ।
काउन्सिलले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागको पत्राचार तथा पूर्ण बैठकको निर्णयअनुसार यस्तो व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार काउन्सिलबाट जारी हुने सबै प्रमाणपत्रका लागि स्थायी लेखा नम्बर (प्यान) र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य हुनेछ। गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि भने थप कागजात आवश्यक पर्नेछ।
स्वदेशमा कार्यरत चिकित्सकले कार्यरत संस्थाबाट जारी रोजगारी खुल्ने पत्र तथा विदेशमा कार्यरत चिकित्सकले सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियामक निकायबाट जारी गुड स्ट्यान्डिङ प्रमाणपत्र बुझाउनुपर्नेछ। रोजगारीमा संलग्न नभएकाले सोको स्पष्ट विवरणसहित निवेदन दिनुपर्नेछ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. सम्राट् पराजुलीद्वारा जारी सूचना अनुसार यो व्यवस्था आगामी मङ्सिर १५ गतेदेखि लागू हुनेछ। गलत विवरण वा झुट्टा कागजात पेस गरेमा कानुनबमोजिम कारबाही हुनुका साथै भविष्यमा गुड स्ट्यान्डिङ प्रमाणपत्र रोक्का हुन सक्ने काउन्सिलले जनाएको छ।
