धनगढी । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। अस्पताल परिसरमा आयोजित कार्यक्रममा शहीद गौरव जोशीको परिवारलाई ३ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरिएको छ।
परिवर्तन, सुशासन र उज्ज्वल भविष्यको आकांक्षासहित गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ज्ञात–अज्ञात शहीदहरूको स्मरणमा कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ।
कार्यक्रममा प्राध्यापक डा। हेमराज पन्त, नागरिक समाजका अगुवा प्रमोद पाठक, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, शहीद गौरव जोशीकी आमा गुन्ना जोशी, निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तलगायत चिकित्सक तथा अस्पतालका कर्मचारीहरूको सहभागिता थियो।
कार्यक्रमकै क्रममा निसर्ग हस्पिटलका तर्फबाट शहीद गौरव जोशीकी आमा गुन्ना जोशीलाई ३ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। अस्पतालका अध्यक्ष तीर्थराज पन्त, बालरोग विशेषज्ञ डा। प्रदीप मिश्र र प्राध्यापक डा। हेमराज पन्तले संयुक्त रूपमा गुन्ना जोशीलाई चेक हस्तान्तरण गरेका थिए।
दीप प्रज्वलन कार्यक्रममा चिकित्सक, पत्रकार तथा जेनजी आन्दोलनमा सहभागी युवायुवतीहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा सहभागीहरूले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र बलिदानलाई स्मरण गरेका थिए।