काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने भएको छ।
मन्त्रालयका अनुसार प्रत्येक अस्पतालमा एकपटकमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण गरिनेछ। कोशी, नारायणी, गजेन्द्र नारायण सिंह, भरतपुर, भेरी र डडेलधुरा अस्पतालमा शवगृह निर्माण तथा क्षमता विस्तारको प्रक्रिया अघि बढाइनेछ।
त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि शवगृह निर्माण वा क्षमता विस्तार गरिने मन्त्रालयले जनाएको छ।
स्वास्थ्यमन्त्री निशा मेहताले विगतका विपद् तथा पछिल्लो भोटेकोशी बाढीका क्रममा शव व्यवस्थापनमा देखिएको कठिनाइलाई ध्यानमा राख्दै अस्पतालमै पर्याप्त क्षमताको शवगृह आवश्यक रहेको बताईन्। मन्त्रालयले विपद्का बेला शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र वैज्ञानिक बनाउनुका साथै फरेन्सिक तथा मेडिको–लिगल सेवा प्रभावकारी बनाउन यस्तो पूर्वाधार विकास गर्न लागेको जनाएको छ।