काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित लक्षित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रसबीच भएको सम्झौताअनुसार ‘समुन्नति कार्यक्रम’मार्फत उक्त सहायता प्रदान गर्न लागिएको हो।
प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब ६ हजार परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त तथ्याङ्क र आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी रकम सम्बन्धित परिवारको बैंक खातामा सिधै जम्मा गरिने रेडक्रसले जनाएको छ।
खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, घरायसी सामग्री र जीविकोपार्जनलगायतका आवश्यकतामा परिवारले रकम प्रयोग गर्न सक्नेछन्। सहायता वितरणमा महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य जोखिममा रहेका परिवारलाई प्राथमिकता दिइनेछ।
रेडक्रसले बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइ, आवास, मानसिक स्वास्थ्य, संरक्षण तथा अन्य मानवीय सहायता पनि निरन्तर गरिरहेको जनाएको छ।