काठमाडौं - पिल्स भनेको महिलाले खाने परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन हो। यो छोटो अवधिका लागि गर्भान्तर गर्न चाहने महिलालाई धेरै नै उपयोगी छ। यो चक्की हरेक दिन नबिराई खाने गरेमा गर्भ रहँदैन। तर यो चक्की खान छोडेमा महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छिन्।
पिल्स एक साइकल (एक पत्ता) मा जम्मा २८ चक्की हुन्छन्। २८ चक्कीहरुमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगको हुन्छ। महिलाले चक्की खान छाडेपछि उनको प्रजनन् शक्ति चाँडै नै फर्कन्छ। यसबाट उनको महिनावारी चक्रमा कुनै असर गर्दैन। यदि चक्की खान छाडेपछि पनि महिलाले गर्भधारण गर्न सकेनन् भने यो समस्या पिल्स छोडेको कारणबाट नभई अन्य कुनै कारण हुनसक्छ भनी सो कुराको जाँच गराउनुपर्छ।
पिल्सले कसरी गर्भ रोक्छ?
मिश्रित चक्की (पिल्स)ले डिम्ब परिपक्व भई निस्कने क्रियालाई रोक्छ। जसका कारणले मासिक डिम्ब निष्काशन हुन पाउँदैन। साथै पाठेघरबाट निस्कने तरल पदार्थलाई बाक्लो बनाउँछ। त्यसैगरी पाठेघरको भित्री भागलाई पातलो बनाई गर्भ रहनबाट रोक्दछ।