नयाँदिल्ली, १२ असोज । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सवैभन्दा कम भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् ।दैनिक सङ्क्रमितहरुको २० हजारभन्दा कम हुनुलाई सन्तोषजनक अवस्थाको रुपमा लिइएको अधिकारीहरुको भनाई छ । नयाँ सङ्क्रमित मध्ये आधाभन्दा बढी केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै जानेक्रममा मंगलबार झण्डै सात महिना पछिकै कम भएको हो ।
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३६ लाख ९७ हजार ५८१ पुगेको छ ।
कुल सङ्क्रमित मध्ये दुई लाख ९२ हजार २०६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो पनि १९२ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । सक्रिय सङ्क्रमितहरुको अहिलेको सङ्ख्या कुल सङ्क्रमितहरु मध्येको एक प्रतिशतभन्दा पनि कम देखिएको छ । यो सङ्ख्या पनि २०२० को मार्चपछिकै सवैभन्दा कम भएको अधिकारीहरुको भनाई छ ।
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल तीन करोड २९ लाख ५८ हजार दुई जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये २६ हजार ३० जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन । दैनिक नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै हुदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको हो ।
भारतमा कोरोनाबाट अहिलेसम्म कुल चार लाख ४७ हजार ३७३ जनाको मृत्यु भएको छ । एएनआई