एजेन्सी । हरेक रात आरामदायी निद्रा पाउनका लागि मानिसहरू विभिन्न तरिकाहरू प्रयोग गर्छन् ।
बच्चाहरू सुत्न नसक्दा आमाबाबुले तिनीहरूलाई पुस्तकबाट कथाहरू सुनाउने गर्छन् । विज्ञहरूका अनुसार यसरी किताब पढ्नु बच्चाका लागि मात्र नभई हरेक उमेर समूहका मानिसलाई फाइदा हुन्छ । राति सुत्नुअघि आफ्नो मनपर्ने पुस्तक केही समय पढेर आरामदायी निद्रा पाउन सक्छन्।
सुत्ने बेलामा धेरै सोच्ने मानिसमा पढ्ने बानीले आराम दिन सक्छ । हरेक दिन सुत्नुभन्दा आधा घन्टाअगाडि पढ्नुपर्छ । किताब पढ्नाले राम्रोसँग निदाउन सहयोग पुग्छ । सन् २०२१ मा गरिएको ‘द रिडिङ ट्रायल’ नामक अनलाइन अध्ययनले पुस्तक पढ्ने ४२ प्रतिशत मानिसको निद्राको गुणस्तर राम्रो भएको पाएको थियो।
इन्सोम्नियाका बिरामीका लागि रोगबाट छुटकारा पाउन पुस्तक पढ्ने उपाय प्रभावकारी हुने विज्ञहरू बताउँछन् । नियमित किताब पढ्नाले पटक-पटक बिउँझिने, छिट्टै निद्रा खुल्ने समस्याको छुटकारा पाउन सकिन्छ । यो पुस्तक पढ्नुको दीर्घकालीन फाइदाहरूमध्ये एक हो । किताब पढ्नाले डिप्रेसन तथा एन्जाइटीको समस्यालाई पनि कम गर्न सकिन्छ।
आरामदायी निद्रा पाउनका लागि सुत्ने समयमा हरर, अपराध र एक्सनको सट्टा कमेडी, रोमान्टिक वा कमिक पुस्तकहरू पढ्न सकिन्छ।