एजेन्सी । प्रायः अमिलो डकार आउने र छातीमा जलन भएको महसुस भएमा क्यान्सरको जोखिम बढ्ने हुुन्छ।
जर्नल अफ द अमेरिकन क्यान्सर सोसाइटीमा प्रकाशित एक अनुसन्धानका अनुसार अमिलो डकार आउने र छातीमा जलन हुनेजस्ता लक्षण बढी भएमा घाँटी र खाना नलीको क्यान्सर हुने जोखिम बढी हुन्छ । वैज्ञानिकहरूले घाँटी र खाना नलीमा हुने क्यान्सरको १७ प्रतिशत केस एसिड रिफ्लक्सको समस्या भएका बिरामीमा देखिएको दाबी गरेका छन्।
एसिड रिफ्लक्सलाई ग्यास्ट्रोइसोफेगल रिफ्लक्स रोग पनि भनिन्छ । खाना नलीको अन्तिभ भागलाई बन्द गर्ने तथा खोल्ने मांसपेशीहरूले ठीकसँग काम नगर्दा पेटमा उत्पन्न भएको एसिड पुनः मुखमा फर्कने हुन्छ । जसकारण एसिड रिफ्लक्सको समस्या भएका मानिसमा अमिलो डकार आउने र छाती पोल्ने वा जलन हुने महसुस हुन्छ।
एसिड रिफ्लक्स सामान्यता धेरैजसो मानिसलाई हुने गर्छ । र, धेरैजसो समस्या भएका मानिसमा पछि गएर क्यान्सरको विकास हुन्छ भन्ने पनि हुँदैन । तर अमिलो डकार आउने र छातीमा जलन हुनेजस्ता लक्षणहरू बढी वा पटकपटक भएमा तथा ग्यास्ट्रोइसोफेगल रिफ्लक्स रोगका कारण निम्तिएको ब्यारेट्स ओसोफेगस समस्याले क्यान्सरको जोखिमलाई थप बढाउन सक्छ।