एजेन्सी । विवाह नगरेका महिलामा उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनको जोखिम बढी हुने अमेरिकाको अध्ययनले देखाएको छ । वैज्ञानिकहरूले विवाह र लिङ्गसँग उच्च रक्तचापबीचको सम्बन्ध बुझ्नको लागि अध्ययन गरेको हाइपरटेन्सन नामक जर्नलमा उल्लेख गरिएको छ ।
अध्ययनका लागि क्यानडाका ४५ देखि ८५ वर्ष उमेरका पुरुष तथा महिलाहरूलाई समावेश गरिएको थियो । विवाहित जोडीहरूको तुलनामा एक्लै बस्ने महिलाहरूमा उच्च रक्तचापको समस्यामा २८ प्रतिशत बढी हुने अध्ययनले पत्ता लगाएको छ ।
त्यस्तै, अध्ययनका अनुसार सम्बन्ध विच्छेद भएका महिलामा २१ प्रतिशत र पतिको मृत्युपछि वा विधवा महिलाहरूमा उच्च रक्तचापको जोखिम ३३ प्रतिशत बढी रहेको छ । यसबाहेक वैज्ञानिकहरूले निकै कम साथी हुने महिलामा पनि उच्च रक्तचापको जोखिम १५ प्रतिशत बढी हुने बताएका छन् ।
तर यसको विपरीत विवाह नगरेका पुरुषमा भने उच्च रक्तचापको समस्या वा जोखिम बढी नहुने देखिएको छ । अनुसन्धानका अनुसार एक्लै बस्ने पुरुषहरूले धेरै तनाव नलिने हुँदा उनीहरूमा उच्च रक्तचापको जोखिम महिलाको तुलनामा निकै कम हुने बताइएको छ ।