एजेन्सी । मस्तिष्कको कार्यलाई असर पार्ने डिमेन्सियाका लक्षणहरू ६० वर्षको उमेरपछि देखिन थाल्छन् । तर, हामीले हाम्रो ३० र ४० को दशकमा गरेका कामले यसमा गम्भीर असर पार्छ ।
खराब जीवनशैली, अनियमित खाने बानी, शारीरिक गतिविधिको कमी लगायतका कारण डिमेन्सियाको जोखिम बढ्छ । यस्तैमा बिहानको खाजा (ब्रेकफास्ट) नखाने बानीले भविष्यमा डिमेन्सिया हुने जोखिमलाई बढाउने अध्ययनले देखाएको छ ।
जापानिज जर्नल अफ ह्युमन साइन्सेस अफ हेल्थ-सोसल सर्भिसमा प्रकाशित अध्ययनको निष्कर्षले बिहानको खाजा नखाँदा चार गुणाले जोखिम बढाउने देखाएको छ । बिहानको खाजा दिनको सबैभन्दा महत्त्वपूर्ण खाना हो । बिहानको पौष्टिक र स्वस्थ खानाले दिनभर सक्रिय रहन र काममा ध्यान दिन मद्दत गर्छ । बिहानको खाजा नखानाले मानिसलाई थकित महसुस गराउनुका साथै मुड पनि बिगार्न सक्छ ।
अध्ययनले जीवनशैली बानी र डिमेन्सिया बीचको सम्बन्ध बुझ्ने प्रयास गरेको छ । यो अध्ययन जापानको सहरी केन्द्र नजिकैको खेतीपाती समुदायमा ६ वर्षभन्दा बढी समयसम्म गरिएको थियो जसमा ६५ वर्ष वा सोभन्दा माथिका करिब पाँच सय २५ वृद्धवृद्धाहरूले भाग लिएका थिए । अध्ययनले जुन पनि लिङ वा उमेरका मानिसमा बिहानको खाजा नखानेहरूलाई डिमेन्सिया हुने जोखिम चार गुणा बढी भएको पत्ता लगायो ।
अध्ययनले खानपानको बानीले पनि व्यक्तिमा डिमेन्सियाको जोखिम बढाउन जिम्मेवार छन् भन्ने पत्ता लागाएको छ । खानामा नुनको ख्याल नगर्नेमा दुई दशमलव पाँच गुणा र सन्तुलित आहारको सेवन नगर्नेमा पछि जीवनमा डिमेन्सिया हुने जोखिम दुई दशमलव सात गुणा बढी रहेको पाइएको छ । डिमेन्सियाको जोखिम कम गर्न दैनिक आहारमा स्वस्थ र पौष्टिक खाना समावेश गर्नुपर्छ ।