एजेन्सी । धुम्रपानले स्ट्रोकको जोखिम बढाउने धुम्रपानसम्बन्धी नयाँ अनुसन्धानले देखाएको छ ।
अमेरिकाको येल स्कुल अफ मेडिसिनमा गरिएको अनुसन्धानले स्ट्रोक र धुम्रपानबीच सिधा सम्बन्ध रहेको प्रमाणित गरेको छ । स्ट्रोक र धुम्रपानको सम्बन्ध बुझ्नका लागि ४० देखि ६९ वर्ष उमेरका चार लाखभन्दा बढी व्यक्तिको आनुवंशिक तथ्याङ्क सङ्कलन गरिएको थियो । स्ट्रोक नामक जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार एक वर्षमा १० बट्टा सिगरेट पिउने मानिसमा ब्रेन स्ट्रोकको खतरा २७ प्रतिशत हुन्छ ।
धुम्रपानबाहेक रक्सीको सेवन, वृद्ध उमेर, मोटोपना, उच्च रक्तचाप, कोलेस्ट्रोल, हृदय रोग र मधुमेह भएका बिरामीहरूमा पनि स्ट्रोकको जोखिम बढी हुन्छ । दिमागमा रहेको रगत सञ्चालन गर्ने नसाहरू बिग्रँदा दिमागमा स्ट्रोकको जोखिम बढ्छ । वा, रगत सञ्चालन गर्ने नसामा हुनसक्ने अवरोधका कारण रगत मस्तिष्कसम्म पुग्न सक्दैन । जसकारण मस्तिष्कमा रगत र अक्सिजन पुग्दैन ।
संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार अक्सिजनको कमीले गर्दा मस्तिष्क कोषहरू केही मिनेटमै मर्न थाल्छन् र ब्रेन स्ट्रोक हुने गर्छ । विज्ञका अनुसार हात, अनुहार र खुट्टाको एकपट्टिको भागले चाल नपाउनु स्ट्रोकको प्रमुख लक्षण हो । यसबाहेक आवाज गुम्ने, हेर्न समस्या हुने, चक्कर आउने र टाउको दुख्ने जस्ता लक्षणहरू पनि देखिन सक्छ । यस्ता कुनै लक्षण देखिएमा तुरुन्त बिरामीलाई अस्पताल लैजानुपर्ने हुन्छ ।