काठमाडौं । चीनमा एमबीबीएस अध्ययन गरेका तर कोभिड महामारीका कारण त्यहाँ इन्टर्नसीप गर्न नपाएका र त्यसका लागि आवेदन दिएका विद्यार्थीले अब नेपालमै इन्टर्नशीप गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा आयोगले मागेको आवेदनमा इन्टर्नसीप गर्न नपाएका सन् २०१४ व्याचका विद्यार्थीलाई नेपालमै इन्टर्नसीप गर्ने व्यवस्था मिलाउन लागेको भन्दै विद्यार्थीलाई उपस्थित हुन आग्रह गरेको छ ।
काउन्सिलले तोकेको फारम भरी आवश्यक विवरणसहित असोज ४, ५ र ६ गते बिहान १० बजे देखि ३ बजे सम्ममा प्रमाण–पत्र रुजु गराउन सूचित गरेको छ ।
काउन्सिलद्वारा जारी सूचनामा भनिएको छ, ‘तोकिएको फाराम भरी फारममा दिइएको विवरणमा उल्लेख भएको कागज–पत्रसहित मिति २०७८ असोज ४, ५ र ६ गते बिहान १० बजे देखि ३ बजे सम्ममा काउन्सिलको कार्यालयमा स्वयं उपस्थित भइ फारम बुझाउन र प्रमाणपत्र रूजु गराउनका लागि सूचित गरिन्छ ।’
त्यस्तै कार्यालयमा हुने भीडभाड कम गर्न र तोकिएको समयमा काम सम्पन्न गर्नका लागि आफूलाई बोलाइएको दिनमा नै उपस्थित हुनसमेत जानकारी गराएको छ ।
चीनमा कोरोना महामारी शुरु भएपछि नेपाल फर्किएका उनीहरुले इन्टर्नसीप गर्न पाएका थिएनन्। त्यसरी स्वदेश फर्किनेमा कतिपयले अध्ययन पुरा गरेका तर इन्टर्नसीप पुरा गर्न नपाएका कारण उनीहरुको पढाई रोकिएको थियो । उनीहरुले विशेष कारण भन्दै स्वदेशमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।