एजेन्सी । एउटै वातावरणमा पनि कसैलाई धेरै गर्मी लाग्ने, कसैलाई कम गर्मी लाग्ने हुन्छ । कतिपय मानिसले गर्मी सहन सक्दैनन् । गर्मीमा सामान्यतया कतै घुम्न जाँदा केही समय तातो अनुभूति हुन्छ तर केही समयपछि शरीरको तापक्रम सामान्य हुने हुन्छ ।
तर कतिपयको हकमा यस्तो हुँदैन । शरीरको सामान्य तापक्रम ९८ दशमलव ६ डिग्री फारेनहाइट हुन्छ । तर यो तापक्रम विभिन्न व्यक्तिहरूमा फरक हुन सक्छ ।
कहिलेकाहीँ शरीरको तापक्रम उमेर, लिङ्ग वा दिनभर गरिने गतिविधिहरूमा निर्भर हुन्छ । कतिपय मानिसहरूलाई धेरै गर्मी वा धेरै जाडो अनुभव हुनसक्छ । यस्तो हुनुका पछाडि धेरै कारण हुन सक्छन् । यस्ता छन् धेरै गर्मी र जाडो अनुभूति हुने केही कारणः
उमेर
कम उमेरका मानिसहरूको तुलनामा वृद्ध व्यक्तिहरूले आफ्नो शरीरको तापक्रम व्यवस्थापन गर्न सक्दैनन् । उमेर बढ्दै जाँदा शरीरको मेटबोलिजम ढिलो हुँदै जान्छ । मेटाबोलिजम ढिलो भएको कारण, वृद्ध व्यक्तिहरूको शरीरको तापक्रम धेरै कम हुन सक्छ । जसकारण वृद्धवृद्धाहरूलाई हाइपोथर्मिया हुने सम्भावना बढी हुन्छ ।
लिङ्ग
पुरुषको तुलनामा महिलाको शरीरमा कम मांसपेशी हुन्छ । जसकारण महिलाहरूमा छालाको छिद्रबाट थोरै मात्रामा तातो उत्पन्न हुन्छ र पुरुषको तुलनामा महिलाहारूलाई कम गर्मी अनुभव हुन्छ । तर मेनोपज भइसकेका र मध्यम उमेरका महिलाहरूलाई पुरुषको तुलनामा बढी गर्मी अनुभूति हुन्छ । यस्तो समयमा महिलाहरूमा शरीरको हर्मोनमा धेरै परिवर्तन भइरहेको हुन्छ ।
शरीरको आकार
विज्ञहरूका अनुसार शरीरको आकार पनि धेरै गर्मी वा चिसो अनुभव हुनुको कारण हुनसक्छ । सिड्नी विश्वविद्यालयका फिजियोलोजीका अनुसन्धानकर्ता ओली जेका अनुसार शरीरको आकार जति ठूलो हुन्छ, त्यति नै गर्मीको अनुभूति हुन्छ र यसले गर्दा शरीरलाई चिसो हुन बढी समय लाग्छ ।
शरीरको बोसो
शरीरमा धेरै बोसो भएका मानिसहरू अरूको तुलनामा बढी गर्मी महसुस गर्छन् । अतिरिक्त बोसोले शरीरलाई तातो बनाउँछ । तातो महसुस हुदाँ रक्तनलीहरू फैलिन्छन्, जसबाट रक्त प्रवाह भएर छालामा जान्छ । छालाको माध्यमबाट तातो निस्कने हुन्छ, तर शरीरमा बोसो धेरै भएका मानिसहरूमा यो छालामुनि जम्मा भइरहन्छ । छालामुनि जम्मा भएको बोसोका कारण लामो समयसम्म गर्मी अनुभव भइरहन्छ ।
स्वास्थ्यमा समस्या
शरीरमा लाग्ने केही रोगहरूले शरीरको तापक्रमलाई असर गर्छ । हाइपोथायराइडिजम भएको बेला थाइरोइड ग्रन्थीले पर्याप्त हर्मोन उत्पादन गर्दैन । जसकारण महत्त्वपूर्ण शारीरिक कार्यहरू जस्तै मेटाबोलिजम, शरीरको ऊर्जा स्तर आदिलाई व्यवस्थित नहुने कारण व्यक्तिलाई बढी चिसो अनुभव हुन्छ । यसबाहेक रेनड्स रोगजा कारण पनि खुट्टाका पैताला, औँलाहरूलगायत शरीरका केही भाग चिसो हुने, सुन्निने हुन्छ ।
यो चिसो मौसममा वा तनावको कारण पनि हुन सक्छ । यो समस्याका कारण शरीरका साना धमनीहरू साँघुरो हुन थाल्छन् जसकारण प्रभावित क्षेत्रमा रगतको प्रवाह सीमित हुन्छ ।