नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा घुँडाको हड्डीमा भएको जटिल ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक अंको सर्जन डा। गोपाल पौडेलको नेतृत्वमा बर्दियाको बढैयाताल गाउँपालिकाका ३० वर्षीय युवकको करिब साढे चार घण्टा लगाएर शल्यक्रिया गरिएको हो। शल्यक्रियामा ट्युमरले प्रभावित हड्डी हटाई मेगाप्रोस्थेसिस प्रयोग गरेर घुँडाको जोर्नी पुनः निर्माण गरिएको अस्पतालले जनाएको छ।
हाल बिरामीको स्वास्थ्यमा सुधार भइरहेको छ र उनी सामान्य रूपमा हिँड्न थालेका छन्। यो सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गरिएको दोस्रो यस्तो जटिल शल्यक्रिया हो। अस्पतालका अनुसार अब यस्ता उपचार खजुरामै उपलब्ध हुन थालेपछि बिरामीले काठमाडौँ वा भारत धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।