काठमाडौं। एचआईभीको उपचार सेवा विस्तार भए पनि संक्रमित व्यक्तिमाथि हुने सामाजिक तथा संस्थागत विभेद अझै चुनौतीकै रूपमा रहेको भन्दै सरोकारवालाले स्वास्थ्य सेवा, शिक्षा र सामाजिक क्षेत्रमा सम्मानजनक व्यवहार सुनिश्चित गर्न संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।
जनस्वास्थ्य कार्यालय काठमाडौंले बिहीबार आयोजना गरेको एचआईभीसम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सञ्चारकर्मी तथा एचआईभीको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले संक्रमित व्यक्तिको अधिकार, स्वास्थ्य सेवामा समान पहुँच, सामाजिक विभेद न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका विषयमा छलफल गरेका थिए। सहभागीहरूले एचआईभीसम्बन्धी भ्रम र गलत धारणालाई वैज्ञानिक तथ्यका आधारमा अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत मनिश कायस्थले एचआईभीरएड्सको वर्तमान अवस्था, संक्रमणको प्रवृत्ति तथा संक्रमितप्रति हुने लाञ्छना र भेदभावबारे प्रस्तुति दिएका थिए। उनले एचआईभीसँग बाँचिरहेका व्यक्तिमाथि हुने नकारात्मक टिप्पणी, असमान व्यवहार र सामाजिक बहिष्करणले उपचारमा निरन्तरता, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने भएकाले समाजमा सही जानकारी प्रवाह गर्न आवश्यक रहेको बताए।
उनका अनुसार नेपालमा हाल करिब ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको अनुमान छ। तीमध्ये ३३ हजार २७९ जना १५ वर्षभन्दा माथिका छन्। विश्वभर दैनिक करिब ३ हजार ६०० जना नयाँ संक्रमण थपिने क्रममा नेपालमा पनि औसत प्रतिदिन करिब दुई जना नयाँ संक्रमित थपिने गरेका छन्।
कार्यक्रममा सहभागीहरूले एचआईभी संक्रमितले उपचारका क्रममा अझै पनि विभेदपूर्ण व्यवहार भोग्नुपरेको अनुभव सुनाए। निजी अस्पतालमा शल्यक्रिया गर्दा संक्रमित भएकै कारण अतिरिक्त शुल्क मागिने, स्वास्थ्यकर्मीबाट असमान व्यवहार हुने तथा उपचार लिनसमेत हिच्किचाउनुपर्ने अवस्था अझै कायम रहेको उनीहरूको भनाइ थियो।
छलफलका क्रममा एचआईभी संक्रमित भएकै कारण हेल्थ असिस्टेन्ट अध्ययनरत एक विद्यार्थीलाई अध्ययनबाट हटाइएको घटना पनि प्रस्तुत गरिएको थियो। सहभागीहरूले यस्तो घटनाले स्वास्थ्य क्षेत्रभित्रै एचआईभीबारे वैज्ञानिक ज्ञान र संवेदनशीलताको अभाव अझै रहेको देखाएको टिप्पणी गरे।
जनस्वास्थ्य कार्यालय काठमाडौंका ल्याब टेक्निसियन अधिकृत सरोज रोकाले ग्रामीण क्षेत्रमा शिक्षा र सचेतनाको कमी तथा वैदेशिक रोजगारीमा जानेको संख्या बढी भएकाले संक्रमणको जोखिम बढिरहेको बताए। उनले संक्रमण नियन्त्रणसँगै संक्रमितमाथि हुने विभेद अन्त्य गर्न पनि उत्तिकै ध्यान दिनुपर्ने उल्लेख गर्दै सम्मानजनक व्यवहार, गुणस्तरीय स्वास्थ्य सेवा र अधिकारको सुनिश्चितताका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा सहभागीहरूले एचआईभी संक्रमितको अधिकार संरक्षण, गोपनीयताको सम्मान र विभेदरहित समाज निर्माणका लागि सरकार, स्वास्थ्य संस्था, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा समुदायले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए।