एजेन्सी ।युवा अवस्थामा हुने मोटोपनले भविष्यमा स्मरणशक्ति कमजोर हुने अध्ययनले देखाएको छ । २० देखि ३० वर्षको उमेरका मानिसको शरीरको तौल बढी भएमा स्मरणशक्ति कमजोर हुने देखाएको हो ।
कम उमेरमा मोटोपनाको समस्याका कारण सोच्ने र बुझ्ने क्षमतामा नकारात्मक असर पर्नसक्छ । अमेरिकाका अनुसन्धानकर्ताले १५ हजार मानिसमा गरेको अनुसन्धानबाट मोटोपनासँग सङ्घर्ष गरिरहेका युवाहरू हृदय रोगको जोखिममा छन्, जसले भविष्यमा दिमागलाई पनि असर गर्न सक्ने दाबी गरेका हुन् ।
क्यालिफोर्निया विश्वविद्यालयका अन्वेषकहरू अनुसार मोटोपनाको समस्या भएका युवाहरूको बडी मास इन्डेक्स र रक्तचाप कम उमेरमा नै उच्च रहन्छ । शरीरको बोसो र रक्तचापको कारण, मस्तिष्कमा दुई गुणा बढी खराब प्रभाव पर्नसक्छ । यसका साथै मोटोपनाका कारण रगतमा ग्लुकोजको स्तर पाँच गुणासम्म बढ्न सक्छ ।
क्यालिफोर्निया विश्वविद्यालयका न्युरोलोजिस्ट क्रिस्टिन याफेका अनुसार मोटोपनाको समस्या कम उमेरमा नियन्त्रण गरिएमा मस्तिष्कमा हुने नकारात्मक प्रभावलाई भविष्यमा रोक्न सकिन्छ । यसका लागि बडी मास इन्डेक्स, रक्तमा ग्लुकोजको स्तर, रक्तचाप र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नुपर्छ । क्रिस्टिनका अनुसार कुनै पनि उमेरमा कोलेस्ट्रोलको स्तरमा भएको वृद्धिले सोच्न र बुझ्ने क्षमतालाई असर गर्ने हुन्छ ।