ललितपुर महानगरपालिकाको वडा नं २० ले महिला स्वास्थ्यको कार्यक्रमलाई विशेष प्राथमिकता दिदैं आएको छ । महिला स्वास्थ्य कार्यक्रमलाई बजेट नै छुट्याएर अघि बढेको यस वडाले आफ्नो वडा अन्तर्गतका विद्यालय छात्राहरुलाई निशुल्क रुपमा स्यानिटरी प्याड वितरण गर्दै आएको छ ।
महिला स्वास्थ्य क्षेत्रका अन्य कार्यक्रमहरु छनौट नभई स्यानिटरी प्याड वितरण कार्यक्रमलाई नै किन प्राथमिकता पारियो , यस कार्यक्रमको लक्ष्य , प्राप्तीबारे वडा अध्यक्ष चन्द्रलाल महर्जनसँग महिला स्वास्थ्यकी लक्ष्मी चौलागाईंले गरेको कुराकुरानीको सम्पादित अंश :
महिला स्वास्थ्यका क्षेत्रमा स्यानिटरी प्याड वितरण कार्यक्रमलाई किन प्राथमिकतामा दिनुभएको हो ?
विशेष गरी विकास निर्माणको काम जनप्रतिनिधीहरुको प्राथमिकतामा पर्ने गरेका छन् । समाज तथा स्वास्थ्य क्षेत्रमा सामान्य कार्यक्रमहरु समेत सञ्चालन हुन सकेका छैनन् ।
महिला तथा किशोरीहरुले महिनावारीका कारण घर तथा समाजमा विभिन्न प्रकारका विभेदहरु समेत सहनुपरेको छ । किशोरीलाई नियमित प्याड उपलब्ध गराए कक्षामा उनीहरूको उपस्थिति बढ्छ।मानसिक र शारीरिक स्वास्थ्य सुध्रन्छ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/318305092_709449777371216_4725732359990206901_n.jpg)
महिनावारीको समयमा किशोरीहरु विद्यालय नै नआउने गरेको पनि हामी पाउँछौ ।कुनै पनि विद्यालय स्तरका छात्राहरुलाई उनको महिनावारीले बिद्यालय नै नआउने परम्पराको अन्त्य गर्नका लागि ललितपुर महानगरको वडा नं २० ले विद्यालयमा नै स्यानिटरी प्याड वितरणको कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यत्रमलाई हामीले विभिन्न चरणमा सञ्चालन योजना बनाएका छौं ।
महिनावारीमा हुने विभिन्न प्रकारको विभेद तथा महिला हिंसासँग यो स्यानिटरी प्याड वितरण कार्यक्रमको सम्बन्ध के छ ?
महिनावरीका कारण एउटी महिला तथा किशोरी आफ्नो जीवनकालमा विभिन्न प्रकारको विभेद सहन बाध्य हुन्छिन् । महिनावारीको समयमा महिलाहरुमाथि घरपरिवारबाट विभिन्न प्रकारका शारीरिक तथा मानसिक हिंसा हुने गर्छन् ।
त्यस्तै प्रकारका हिंसा स्कूल तथा कलेजमा पनि हुने गरेको छ । महिला स्वास्थ्यको महत्पुर्ण पक्ष महिनावारीको समयमा किशोरीहरुको ज्ञान, सीप बाधक नबनोस् भन्ने मुख्य लक्ष्यका साथ हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/318374926_998059441583399_332374524117211669_n.jpg)
महिला विकासका विभिन्न पक्षहरुलाई विशेष ध्यान दिदैं उनीहरुको प्रगतीको बाधक महिनावारी नबनोस् भन्नका लागि हामीले यस कार्यक्रमलाई बजेट छुट्याइएको हो ।
प्याड वितरण मात्र नभई हामीले महिला दीदीबहिनीलाई आर्थिक लाभ समेत हुनेगरी प्याड निर्माणका लागि तालिम समेत दिने गरेका छौं ।वडा सम्पूर्ण क्षेत्रको विकासका लागि पूर्वाधार विकास मात्रै अपर्याप्त भएकोले पनि हाम्रो वडाले यस कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको हो ।
यस कार्यक्रमलाई कति बजेट विनियोजन गर्नुभएको छ ?
यस कार्यक्रमलाई हामीले विभिन्न चरणमा सञ्चालन गर्ने योजना बनाएका छौं । कार्यक्रमलाई निरन्तरता दिने अठोटका साथ काम गरिरहेका छौं । कार्यक्रम सफलताको आधारमा बजेट तय हुन्छ । राम्रो कामको सुरुवात भएको भन्दै मैलै वडावासीहरुको माया पाएको छु ।
वडावासीहरुको माया कारण महिला स्वास्थ्यको क्षेत्रमा अन्य कार्यक्रम गर्न आवश्यक रहेको आभास भएको छ । यसरी अभियानकै रुपमा प्याड वितरणको कार्यक्रमलाई अगाडि बढाउने यो ललितपुर महानगरकै पहिलो वडा हो ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/317854708_462878129370678_5704842321140929172_n.jpg)
तपाईहरुले सञ्चालन गर्नूभएको निशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमबाट कति किशोरीहरु लाभान्वित हुनेछन् ?
यस कार्यक्रम अन्तर्गत वडा २० का करिब १२०० जनाले निशुल्क स्यानिटरी प्याड वितरणको सेवा लिन पाउँनेछन् ।
कार्यक्रम सफल हुनेमा कतिको विश्वत हुनुहुन्छ ?
घरघरमा नै गएर प्याड वितरण गरिएको यस कार्यक्रममा वडावासीहरुको साथ र सहयोग मिलेको छ । त्यसकारण पनि कार्यक्रम सफल हुनेमा पूर्ण रुपमा विश्वास लिएको छु ।
हामीले कोही पनि यस अभियानबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ काम गरिरहेका छौं । हामीले वितरण गरेको प्याड धोएर पु:न प्रयोग गर्न मिल्ने प्रकारको छ ।मासिक रुपमा हामीले प्याड वितरण गरिरहेका छौं