पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी तीव्र रूपमा बढ्दै गएका छन् । धेरै मानिसमा लामो समयसम्म खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छिट्टै थकान महसुस हुने तथा हिँड्दा–चढ्दा स्वाँ–स्वाँ हुने समस्या बढ्दो छ । धेरैले यसलाई सामान्य दम, चिसोको असर वा उमेर बढ्दै गएको संकेत ठानेर बेवास्ता गर्ने गर्छन् । तर यस्ता लक्षण दीर्घकालीन फोक्सो रोग “सीओपीडी” का संकेत हुन सक्छन् ।
सीओपीडी अर्थात् “क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज” फोक्सोसँग सम्बन्धित दीर्घकालीन रोग हो, जसमा श्वासप्रश्वास गर्ने नली साँघुरो हुँदै जान्छ र फोक्सोमा कार्बन डाइअक्साइड जम्मा भई बिरामीलाई सास फेर्न गाह्रो हुन्छ । यस कारण शरीरमा अक्सिजनको मात्रा घट्दै जान्छ र दैनिक गतिविधि समेत कठिन बन्दै जान्छ । समयसँगै रोगले फोक्सोको कार्यक्षमता कमजोर बनाउँदै लैजान्छ ।
सुरुआती अवस्थामा धेरैले यसलाई सामान्य समस्या ठानेर बेवास्ता गर्ने गर्छन् । तर समयमै उपचार र नियन्त्रणमा ध्यान नदिँदा रोग विस्तारै जटिल बन्दै जान्छ र बिरामीको दैनिक जीवनमा गम्भीर असर पार्न सक्छ । विशेषगरी वायु प्रदूषण, धूम्रपान, अव्यवस्थित जीवनशैली तथा धुलो–धुवाँको अत्यधिक सम्पर्कका कारण दीर्घकालीन फोक्सोसम्बन्धी रोग सीओपीडीका बिरामी बढिरहेका छन्। केहो सीओपीडी ? किन सीओपीडीका बिरामी बढ्दै गएका छन् ? के सीओपीडी पूर्ण रूपमा निको हुन्छ? यसै बारेमा निसर्ग हस्पिटलका जनरल फिजिसियन तथा पल्मोनरी क्रिटिकल केयर विशेषज्ञ डा. चिरञ्जीवी पन्तसंग गरेको कुराकानि :
सीओपीडी बढ्नुको मुख्य कारण
- धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन
- घरभित्र दाउरा, गुइँठा वा कोइलाको धुवाँ
- सवारीसाधन तथा उद्योगबाट हुने वायु प्रदूषण
- धुलोयुक्त तथा रासायनिक पदार्थ भएको वातावरणमा काम गर्नु
- फोक्सोमा हुने इनजाईम्सको कमी
- फोक्सोको राम्रो संग विकास नभएर
- लामो समयसम्म फोक्सोमा संक्रमण हुनु
- अव्यवस्थित जीवनशैली तथा स्वास्थ्यप्रति लापरवाही
सीओपीडी कारण र अवस्थाअनुसार फरक–फरक हुन सक्छ । सीओपीडीमा प्रायः दुई मुख्य अवस्थाहरू समावेश हुन्छन्—क्रोनिक ब्रोन्काइटिस र एम्फिसेमा, जुन धेरैजसो बिरामीमा सँगै देखिन सक्छन् ।
क्रोनिक ब्रोन्काइटिसमा फोक्सोका हावा जाने नलीहरू सुन्निने र बाक्लिने हुन्छ, जसले धेरै कफ उत्पादन गराउँछ र हावा प्रवाहमा अवरोध गर्छ । भने एम्फिसेमामा फोक्सोका साना हावा थैलीहरू क्षति भएर आफ्नो लचकता गुमाउँछन्, जसले अक्सिजन लिने र कार्बन डाइअक्साइड हटाउने क्षमता घटाउँछ र सास फेर्न गाह्रो बनाउँछ । धेरै बिरामीमा यी दुवै अवस्था मिश्रित रूपमा देखिन्छन्, र लक्षण तथा उपचार योजना व्यक्ति–व्यक्ति अनुसार फरक हुन सक्छ ।
रोगका प्रमुख लक्षण
- लगातार खोकी लागिरहनु ( बिहानमा बढने)
- कफ धेरै आउनु
- सास फेर्न गाह्रो हुनु
- हिँड्दा वा सिँढी चढ्दा स्वाँ–स्वाँ हुनु
- पटक–पटक छातीको संक्रमण हुनु
- छिट्टै थकान महसुस हुनु
- छाती भारी वा दुख्ने अनुभव हुनु
- सामान्य काम गर्दा पनि स्वास फुल्नु
- राति सुत्दा श्वासप्रश्वासमा समस्या हुनु
सीओपीडी कुन अवस्थामा जोखिम पुर्ण हुन्छ ?
यो एक दीर्घकालीन र निरन्तर बढ्दै जाने रोग हो। यदि बिरामिले लक्षणहरुलाई बेवास्ता गर्यो साथै धूम्रपान, अव्यवस्थित जीवनशैली छोडेन भने जोखिमपूर्ण बन्न सक्छ ।प्रारम्भिक चरणमा सामान्य देखिने यी लक्षणलाई बेवास्ताका साथै हेलचेक्राई गर्ने, समयमै उपचार नगर्ने हो भनी यो जोखिमपूर्ण बन्न सक्छ ।
बारम्बार छातीको संक्रमण वा निमोनिया हुने, ज्वरो आउने र कफको रंग परिवर्तन हुने अवस्थाले पनि फोक्सो झन् कमजोर बनाउँछ । इनहेलर वा औषधि प्रयोग गर्दा पनि राहत नमिल्नु, लामो समयसम्म धूम्रपान जारी राख्नु तथा अक्सिजन सपोर्ट आवश्यक भएको समयमा पनि सपोर्ट नलिँदा रोगलाई अझ गम्भीर बनाउँछ । यस्तो अवस्थामा बिरामीको दैनिक जीवन अत्यन्तै प्रभावित हुन्छ र अस्पताल भर्ना हुने जोखिम पनि बढ्छ । त्यसैले सीओपीडीलाई समयमै नियन्त्रणमा राख्नु र जोखिमका संकेत देखिनासाथ तुरुन्त उपचार लिनु अत्यन्त आवश्यक हुन्छ ।
सीओपीडी पूर्ण रूपमा निको हुन्छ?
सीओपीडी पूर्ण रूपमा निको हुने रोग होइन। तर यसको अर्थ उपचार सम्भव छैन भन्ने होइन—सीओपीडीलाई राम्रोसँग नियन्त्रण गर्न सकिन्छ । सीओपीडी विभिन्न कारण र अवस्थाअनुसार फरक–फरक प्रकारको हुन सक्छ, तर सबै प्रकारमा सही उपचार, औषधि र जीवनशैली परिवर्तनले लक्षणहरू कम गर्न र रोग बिग्रने गति सुस्त बनाउन मद्दत गर्छ । समयमै पहिचान भएमा बिरामीले सामान्य जीवन पनि बिताउन सक्छन् ।
सीओपीडी पूर्ण रूपमा निको नहुने भए पनि धूम्रपान छोड्ने, धुलो–धुवाँबाट बच्ने, नियमित औषधि सेवन गर्ने, सही सावधानी र चिकित्सकको सल्लाहअनुसार जीवनशैली अपनाउने हो भने यसलाई प्रभावकारी रूपमा नियन्त्रणमा राख्न सकिन्छ ।
इनहेलर सम्बन्धी गलत बुझाइ
सीओपीडी तथा दमका बिरामीमा इनहेलरबारे धेरै गलत बुझाइ पाइन्छ । इनहेलर सीओपीडी नियन्त्रणका लागि महत्वपूर्ण उपचार विधि हो । धेरै बिरामीले “इनहेलरको बानी पर्छ” वा “पछि गएर झन् गाह्रो हुन्छ” भन्ने सोच राख्ने गर्छन् । यही गलत धारणाका कारण कतिपय बिरामीले चिकित्सकले सिफारिस गरेको इनहेलर नियमित प्रयोग गर्दैनन् । जस कारण रोग झन् जटिल बन्न सक्छ ।
तर वास्तवमा इनहेलर सीओपीडी नियन्त्रणका लागि सुरक्षित र प्रभावकारी उपचार विधि हो । यसले औषधि सिधै फोक्सोसम्म पुर्याएर श्वासप्रश्वास नली खुला राख्न, सास फेर्न सजिलो बनाउन तथा रोग अचानक बिग्रिने जोखिम कम गर्न मद्दत गर्छ ।
चिकित्सकको सल्लाहअनुसार सही तरिकाले इनहेलर प्रयोग गर्दा फोक्सोको कार्यक्षमता सुधार गर्न र दैनिक जीवन सहज बनाउन सहयोग पुग्छ । त्यसैले इनहेलरलाई डर वा भ्रमका आधारमा होइन, चिकित्सकीय आवश्यकताअनुसार प्रयोग गर्नु आवश्यक हुन्छ ।
पछिल्लो समय किन नेपालमा सीओपीडीका बिरामी बढ्दै गएका छन् ?
नेपालमा सीओपीडी तीव्र रूपमा बढ्नुको मुख्य कारण बढ्दो वायु प्रदूषण, अनियन्त्रित शहरीकरण, धूम्रपानको उच्च प्रयोग, सडक विस्तारका क्रममा उड्ने धुलो तथा स्वच्छ इन्धनको सीमित पहुँच रहेको छन। साथै स्वास्थ्य सचेतनाको कमी , नेपाल सरकारले धुम्रपानमा कडाइ नगर्नाले र समयमै परीक्षण नगर्ने प्रवृत्तिले पनि समस्या बढेको हो ।
ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रसम्म फैलिएको प्रदूषण, घरभित्रको धुवाँ तथा कार्यस्थलको धुलो–धुवाँले फोक्सोसम्बन्धी रोगको भार बढाइरहेको छ । गाउँघरमा दाउरा, गोबर वा कोइलाको धुवाँमा खाना पकाउने महिलाहरू, धुलो–धुवाँमा काम गर्ने मजदुर, उद्योगमा कार्यरत श्रमिक तथा लामो समयदेखि चुरोट वा बिडी सेवन गर्ने व्यक्तिहरू बढी जोखिममा पर्छन् । धेरै बिरामी अस्पताल पुग्दा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ, किनकि सुरुआती लक्षणलाई सामान्य खोकी वा दम ठानेर उपचार नगर्ने प्रवृत्ति अझै धेरै छ ।
युवामा बढ्दो भेप ९ख्बउभ० प्रयोगले श्वासप्रश्वास पर्ने असर
पछिल्लो समय युवाहरूमा भेप ९भ९अष्नबचभततभरखबउभ० प्रयोग गर्ने बानी तीव्र रूपमा बढ्दै गएको छ । धेरैले यसलाई सामान्य वा “कम हानिकारक” विकल्प ठाने पनि यसले फोक्सो र श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पार्न सक्छ । भेपमा हुने निकोटिन, रसायन तथा सूक्ष्म कणहरूले फोक्सोको स्वास्थ्य बिगार्दै दीर्घकालीन रूपमा सीओपीडीको जोखिम बढाउँछन् ।
भेपको धुवाँले फोक्सोका साना हावा नलीहरूमा जलन र सूजन ९ष्लाबिmmबतष्यल० गराउँछ, जसले समयसँगै श्वासप्रश्वासको क्षमता घटाउँछ । लगातार प्रयोग गर्दा फोक्सो कमजोर हुँदै जान्छ र खोकी, सास फेर्न गाह्रो हुने तथा छाती भारी हुने जस्ता लक्षण देखिन सक्छन् । दीर्घकालीन प्रयोगले सीओपीडी मात्र होइन, अन्य गम्भीर फोक्सो रोगहरूको जोखिम पनि बढाउँछ ।
विशेषगरी कम उमेरमै भेप प्रयोग सुरु गर्ने व्यक्तिहरूमा फोक्सो पूर्ण रूपमा विकास हुन नपाउँदै क्षति हुने भएकाले भविष्यमा सीओपीडी हुने सम्भावना अझ बढी हुन्छ । त्यसैले भेपलाई सुरक्षित विकल्प ठान्नु गलत हो र यसको प्रयोगले दीर्घकालीन स्वास्थ्य जोखिम निम्त्याउन सक्छ ।
सीओपीडी भएका बिरामीले विशेष अपनाउनुपर्ने सावधानी तथा सीओपीडी हुन नदिने उपायहरू
सीओपीडीलाई पूर्ण रूपमा निको पार्न नसकिए पनि सही जीवनशैली अपनाएर नियन्त्रणमा राख्न सकिन्छ । यसका साथै यि कुरामा ध्यनदिए यसबाट बच्न सकिन्छ ।
- चुरोट, बिडी तथा सुर्तीजन्य पदार्थ पूर्ण रूपमा त्याग्ने
- धूम्रपान गर्ने व्यक्तिबाट टाढा रहने ९कभअयलम९जबलम कmयपभ बाट बच्ने०
- धुलो, धुवाँ र प्रदूषित वातावरणबाट जोगिने
- बाहिर निस्कँदा मास्क प्रयोग गर्ने
- घरभित्र दाउरा–गोबरको चुलोको सट्टा सफा इन्धन वा राम्रो भेन्टिलेसनको व्यवस्था गर्ने
- नियमित सरसफाइ र स्वच्छ हावापास हुने वातावरण कायम गर्ने
- चिकित्सकको सल्लाहअनुसार नियमित औषधि तथा इनहेलर प्रयोग गर्ने
- औषधि आफैं बन्द वा परिवर्तन नगर्ने
- पौष्टिक र सन्तुलित आहार खाने
- पर्याप्त पानी पिउने
- हल्का व्यायाम तथा श्वासप्रश्वास अभ्यास गर्ने
- रुघाखोकी वा छातीको संक्रमणलाई बेवास्ता नगर्ने र समयमै उपचार गर्ने
- नियमित स्वास्थ्य परीक्षण गराउने
- वायु प्रदूषण धेरै भएको समयमा अनावश्यक बाहिर ननिस्कने