काठमाडौं । नेपाल रेडियोलोजिष्ट एशोसिएसनले आधुनिक चिकित्सा, चिकित्सक र नेपाल मेडिकल काउन्सिलसँग सम्बन्धित विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा फैलाइएका भ्रमपूर्ण, तथ्यहीन र भ्रामक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एशोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन, प्रचलित कानुन तथा काउन्सिलले निर्धारण गरेका मापदण्डअनुसार दर्ता प्राप्त चिकित्सकहरूले मात्र आधुनिक चिकित्सा तथा रेडियोलोजीसम्बन्धी सेवा प्रदान गर्न पाउने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ। कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै गैरकानुनी चिकित्सकीय अभ्यास ९क्व्याकरी० विरुद्धको अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु समयको आवश्यकता भएको पनि एशोसिएसनले जनाएको छ।
विज्ञप्तिअनुसार रेडियोलोजी तथा इमेजिङ सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले आवश्यक योग्यता, तालिम र कानुनी अनुमति बिना सेवा प्रदान गर्ने, चिकित्सकीय प्रतिवेदन तयार गर्ने वा बिरामीलाई भ्रमित पार्ने गतिविधिले बिरामीको स्वास्थ्य र सुरक्षामाथि गम्भीर जोखिम सिर्जना गर्छ। यस्ता गतिविधिलाई कुनै पनि रूपमा प्रोत्साहन गर्न नसकिने एशोसिएसनको भनाइ छ।
एशोसिएसनले नेपाल मेडिकल काउन्सिलले अघि बढाएको ‘एन्टी–क्व्याकरी’ अभियान तथा गैरकानुनी चिकित्सकीय अभ्यासविरुद्धका कानुनी र संस्थागत प्रयासप्रति पूर्ण ऐक्यबद्धता र समर्थन जनाएको छ। साथै, गुणस्तरीय, सुरक्षित, नैतिक तथा प्रमाणमा आधारित स्वास्थ्य सेवा प्रवाहमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र सर्वसाधारणलाई प्रमाणमा आधारित सूचना प्रवाह गर्न, कानुनी व्यवस्था पालना गर्न र सुरक्षित स्वास्थ्य सेवाको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको छ।
_AxT1UDvM1i-1783242368.jpg)